गोरक्ष समाचारदाता
दाङ,१७ साउन । घोराही उपमहानगरपालिका–१३ डुम्मुरगाउँमा रहेको ज्ञानज्योति एजुकेसनल एकेडेमीमा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले स्वागत सम्मान गरेका छन् ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थी लक्ष्मी घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण हुने उद्देश्यमा सीमित नरही ज्ञान, सीप, व्यवहार र सामाजिक उत्तरदायित्वले सम्पन्न नागरिक बन्न आग्रह गरेका थिए । उनले अहिलेको शिक्षा प्रणालीलाई खोज तथा अनुसन्धानसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै विद्यालयले सिर्जनशील, अनुशासित र समाजप्रति उत्तरदायी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्याप्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिनुपर्ने बताए । शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई जीवन निर्माण गर्ने आधार भएकाले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
घोराही उपमहानगरपालिका सामाजिक विकास शाखाका उपनिर्देशक मोतिराम न्यौपाने, घोराही नगर प्याप्सन अध्यक्ष बालकृष्ण ओली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिलाल घर्ती मगर, विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद घर्ती मगर, शैक्षिक संयोजक नवीन आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यार्थी रबिता रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी भूमिका थापाले गरेकी थिइन । कार्यक्रमको आकर्षणका रूपमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक गीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। सांगीतिक तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो।