काठमाडौँ, जेठ ५ । नेपाली कांग्रेसले कोरोना संक्रमित युवाको बाँकेको क्वारेन्टाइनमा मृत्युभएपछि गंभिर चिन्ता व्यक्त गरेको छ । पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माले एक बिज्ञप्ती मार्फत जारी गर्दै मृत्युको घटनाको बिश्लेषण गर्दै सरकार सामु बिभिन्न सात प्रश्न तेर्साएको छ ।
ती युवा छटपटाउँदाको अबस्थामा एम्बुलेन्ससमेत नपाएकोदेखि सो घटनापछि सरकारको चेत आए नआएको सन्र्दर्भ सो बिज्ञप्तीमा उल्लेख छ ।
कांग्रसका सात प्रश्न
(१) ती युवकले अघिल्लो दिनदेखिनै पटकपटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिननै अस्पताल पुर्याउनुपर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?
(२) क्वारेन्टाइनको कार्य्विधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राती एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?
(३) एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरूलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभरनै यो समस्या किन निरन्तर देखिएको छ ?
(४) आइतबार बिहान ७.०० बज्नु अघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको बिद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?
(५) लास उठाउन परिक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, संभव भएसम्म चांडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशाला बीच समन्वय गरेर एउटा मात्रै नमूनालाई प्राथमिकता साथ परिक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पिसिआर उपकरणमा परिक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुंदाहुंदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परिक्षण त्यही ढंगले समयमै गर्ने÷गराउने ब्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?
(६) नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति देखि परिक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेकोे बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दै छ ?
(७) श्रीमती तथा अवोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरूलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केहि चेत आएको छ कि बांकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?