दाङ,१० असार । घोराही र तुलसीपुर दुई सहरलाई जोड्ने घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिकोे कामले पछिल्लो समय गति लिएको छ । गत मङ्सिरदेखि सुरु भएको सडक स्तरोन्नतिले सात महिनाको अवधिमा १६ प्रतिशत भौतिक प्रगति भएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्पदेखि तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवासम्म करिब २१ दशमलव ५८ किलोमिटर सडक चारलेनमा स्तरोन्नति गर्ने कार्य अन्तर्गत रतनपुरदेखि बेलझुण्डीसम्मको सडकमा कल्भर्ट, नाला, वाल निर्माणसँगै माटो कटिङको काम भइरहेको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिएका छन् ।
कार्यालय प्रमुख विष्टका अनुसार ३० मिटर चौडाइको सडक कालोपत्रे हुने क्षेत्र बाहेक सडकको दायाबायाँ करिब १४ किलोमिटरसम्म माटो कटानको काम सकिएको छ । यसैगरी घोराहीको रतनपुरदेखि बेलझुण्डीसम्म ३७ वटा बक्स कल्भर्ट निर्माणाधीन अवस्थामा रहेका छन् भने १४ वटा कल्र्भट निर्माणको अन्तिम चरणमा पुगेका छन् । उक्त सडक खण्डमा तीन वटा स्ल्याब कल्भर्ट निर्माण भइरहेको छ । चारलेन अन्तर्गत सडकमा कल्र्भट निर्माण सकिएपछि सडक ग्राभेल गर्ने तयारी गरिएको छ ।
सडक विस्तार अन्तर्गत घोराहीदेखि दुधराससम्मको सडकखण्डमा पर्ने भौतिक संरचनासँगै विद्युत र रुख हटाइसकिएको छ भने रतनपुरदेखि गुर्जे खोलासम्मको सडक खण्डमा बाँकी रहेका विद्युतका पोल स्थान्तरणको गर्ने काम भइरको छ । कार्यालय प्रमुख विष्टका अनुसार चारलेन सडक अन्तर्गत खैरा, दुधरास, सौँडीकुला र नारायणपुर क्षेत्रमा तीन किलोमिटर नालासमेत निर्माण गरिएको छ ।
बेलझुण्डीमा क्याम्प स्थापना गरेर नाला निर्माण गरिरहेको निर्माण कम्पनीसँग थप साडे दुई किलोमिटर नाला तयारी अवस्थामा रहेको जनाएको छ । ती तयार भइसकेका नालालाई सडकमा ल्याएर राख्ने काम निर्माण कम्पनीले गरिरहेको कार्यालयले जनाएको छ । पहिलो चरण अन्तर्गत सडक क्षेत्रमा पर्ने भौतिक संरचना, विद्युत पोलसँगै रुखहरू हटाउनु पर्ने भएकाले काममा केही सुस्ता भए पनि अब सडक विस्तारको कामले गति लिने विष्ट बताउँछन् ।
सडक निर्माणलाई तीव्रता दिन निर्माण कम्पनीले मोबाइल क्रसर प्लान्ट, मोबाइल स्क्रिन प्लान्ट, मोबाइल स्यान्ड वासर, अस्फाल्ट प्लान्ट तथा कङ्क्रिट ब्याचिङ प्लान्टसमेत निर्माण स्थलमा स्थापना गर्नुका साथै एक्सकाभेटर, ग्रेडर, रोलर, ब्याकहोलोडर, टिप्पर, ट्रेलर, क्रेन, ट्याक्टर, डोजर र ह्विल लोडरसहित ४० वटा निर्माण उपकरण तथा सवारीसाधन परिचालन गरेको छ ।
घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिका लागि २०८२ असार २४ गते दुई अर्ब ५३ करोड रुपैयाँको लागतमा काठमाडौंस्थित दिवा–बन्दन भगवती जेभीसँगे ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेभित्र सडक विस्तारको काम सक्नु पर्ने छ । कार्यालय प्रमुख विष्टका अनुसार १६ प्रतिशत भौतिक प्रगति भएको सडकको १० प्रतिशत वित्तीय प्रगति रहेको छ ।