लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दोमा, रुपन्देही प्रथम, दाङ दोश्रो

दाङ,९ असार । घोराहीमा भएको लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ मा रुपन्देही जिल्ला आईटीएफ तेक्वान्दो संघ पहिलो बनेको छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा दुई दिनसम्म घोराहीमा भएको प्रतियोगितामा रुपन्देहीले ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित समग्रमा ९ पदक जित्दै प्रथम हुन सफल भएको हो । प्रथम बनेको रुपन्देहीले ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आईटीएफ संघले ४ स्वर्ण, १ रजत र २ कास्यसहित ७ पदक जितेर दोश्रो बनेको छ । त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) आईटीएफ तेक्वान्दो संघले ३ स्वर्ण, ५ रजत र २ कास्य पदकसहित तेस्रो स्थान हुन सफल भएको छ । दोश्रो र तेस्रो बनेका दाङ र नवलपरासीलाई समेत ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेशका आठ जिल्लाका खेलाडी सहभागी भएको प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतम, लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगरलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विभिन्न तौल समूहमा स्पारिङ र प्याटर्न विधाका प्रतिस्पर्धा गरेका थिए । तौल समूहतर्फ महिला खेलाडीले ४०–४५, ४५–५०, ५०–५५, ५५–६० तथा ६० केजीमाथिका तौल समूह र पुरुष खेलाडीले ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ तथा ६५ केजीमाथिका तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।