दाङ, ५ असार । सानो लगानीमा व्यवसाय गर्ने व्यवसायीले उत्पादनभन्दा उत्पादित सामाग्रीको बजारीकरणमा समस्या भएको बताएका छन् । घोराही उपमहानगरपालिका उद्योग तथा ब्यवसाय प्रवद्र्धन शाखाले शुक्रवार घोराहीमा आयोजना गरेको ‘बजारीकरण तथा बित्तीय सेवामा पहुँँच’ सम्वन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले स्थानीय स्रोत साधनको उपभोग गरेर सामाग्री उत्पादन गरेपनि बजारीकरणमा समस्या भएको बताएका थिए । कार्यक्रममा सहभागी उद्यमीले स्थानीय स्रोत–साधनको उपयोग गरी उत्पादनको प्रशस्त सम्भावना भएपनि बजार व्यवस्थापन कमजोर हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको बताएका हुन् ।
कार्यक्रममा युनिक अल्लो धागो गार्मेन्टकी सञ्चालिका झुला डाँगीले अल्लो धागो तथा तयारी कपडा उत्पादनमा सफलता हासिल भएपनि बिक्री–वितरणमा समस्या झेल्नुपरेको बताइन् । उनले अल्लोजन्य सामग्रीको प्रमुख बजार मेला–महोत्सव भए पनि त्यहाँसम्म पुग्न आवश्यक प्रशासनिक प्रक्रिया र विभिन्न निकायका झन्झटले व्यवसायीलाई थप समस्या पर्ने गरेको गुनासो गरिन् । ‘उत्पादन गर्नुभन्दा उत्पादित सामग्री बिक्री गर्न कठिन भइरहेको छ’,उनले भनिन्,‘मेला–महोत्सवमा सहभागी हुनदेखि ढुवानीसम्मका प्रक्रियाले साना उद्यमीलाई निरुत्साहित बनाएको छ ।’
तरकारी उत्पादक किसान मनराज घर्तीले उत्पादन गर्न सकिने भएपनि धेरै उत्पादन गर्दा बजारको समस्या भएको बताए । प्रविधिको सहयोगले उत्पादनमा सहजता भएपनि बजारको समस्याले किसान समस्यामा पर्ने गरेको बताए । ‘सानो लगानीको उत्पादन बिक्रीमा समस्या छैन, जिल्ला भित्रै बिक्री हुन्छ’,उनले भने,‘धेरै उत्पादन गर्दा बजारको समस्या हुन्छ, साना व्यवसायीले आफुै बाहिर पठाउन सक्ने अवस्था छैन । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’ तरकारी व्यवसायी कृषि उत्पादनबाट आम्दानी सम्भव भए पनि समयमा मल, बीउ तथा आवश्यक सामग्री नपाउँदा किसान समस्यामा पर्ने गरेको बताए। उत्पादन वृद्धि भए पनि बजार अभावका कारण किसानले उचित मूल्य नपाउने अवस्था रहेको उनको भनाइ थियो।
ड्रागन फ्रुट कृषक शोभाराम डाँगीले कृषि उद्यममा राम्रो सम्भावना रहेपनि उत्पादन बढी हुँदा बजारको समस्या पर्ने देखिएको बताए । पहिले जिल्लामा थोरै उत्पादन हुँदा राम्रो मुल्य पाइने गरेपनि पछिल्लो सय बर्षेनी खेती बढ्दै जाँदा मुल्य पनि घट्दै गएको बताए । उत्पादनका दृष्टिले अहिलेसम्म व्यवसायीले घाटा खानुपर्ने अवस्था नरहेको भन्दै दिर्घकालिन रुपमा पर्न सक्ने समस्या समाधानका लागि ड्राइगन फ्रुटबाट जुस र वाइन उत्पादन गर्ने गरि तयारीअन्तर्गत अध्ययनको काम भइरहेको बताए । साथै उनले कुनै पनि व्यवसायमा लगानी गर्दा योजना बनाएर लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्थानीय सरकारले उद्यमशीलता विकास, सीपमूलक तालिम तथा उत्पादनको बजारीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । साना उद्यमीको सिप विकाससँगै बजारीकरणका लागि सहयोग गर्दै आएको बताए । नगरप्रमुख चौधरीले विभिन्न जिल्ला तथा प्रदेशमा फरक–फरक नीतिका कारण व्यवसायीले समस्या भोग्नुपरेको उल्लेख गर्दै साना तथा घरेलु उद्योगको संरक्षण, प्रवद्र्धन र बजारीकरणका लागि समान नीति आवश्यक रहेको बताए ।
उपप्रमुख हुमा कुमारी डिसीले स्थानीय सरकारले नागरिकलाई आत्मनिर्भर र उद्यमी बनाउन विभिन्न सीप विकास तालिम तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको बताएकी थिइन । घोराही उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास वली, नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष अमरक्षितिज भण्डारी, किसान नारायण बुढामगरलगायतले साना व्यवसायले गरेका काम र भोग्नु परेका समस्याबारेमा धाराना राखेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका उद्योग तथा ब्यवसाय प्रवद्र्धन शाखा प्रमुख इश्वर पाण्डेयले उद्योग व्यवसाय प्रवद्र्धनका लागि गरेका कामका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण चन्द्रबहादुर बुढाले गरेका थिए ।