गोरक्ष समाचारदाता
दाङ, १ असार । दाङमा ११ महिनाको अवधिमा तीन हजार सात सय बढी रगत सङ्कलन गरिएको छ । रक्त सञ्चार केन्द्र घोराहीले चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म तीन हजार सात सय २९ युनिट रगत सङ्कलन गरेको हो ।
जिल्लाका विभिन्न स्थानमा रक्तदान शिविर सञ्चालनसँगै घोराहीमा रहेको कार्यालयबाट तीन हजार सात सय २९ युनिट रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दीलिप न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार सङ्कलित रगतमध्ये तीन हजार १३ युनिट रगत विभिन्न बिरामीलाई उपलब्ध गराइएको छ । इञ्चार्ज न्यौपानेका अनुसार केन्द्रमा रहेको ब्लड कम्पोनेन्ट मेसिनमार्फत् रगतलाई विभिन्न रक्त अंशमा विभाजन गरी एक हजार ५१ जना बिरामीलाई प्लेटलेट, रेड सेल तथा प्लाज्मा सेवा प्रदान गरिएको छ ।
ब्लड कम्पोनेन्ट मेसिनले बिरामीलाई आवश्यक पर्ने रक्त अंश मात्रै उपलब्ध गराउन सहज बनाएको इञ्चार्ज न्यौपानेले बताए । अहिले रक्त सञ्चार केन्द्रद्वारा सञ्चालित ब्लड बैंक घोराहीमा एउटा मात्र ब्लड कम्पोनेन्ट मेसिन रहेकाले उक्त मेसिन बिग्रिए रगतको समस्या पर्न सक्ने उनले बताए ।
‘रक्त अंश छुट्याएर सेवा दिन सकिएकाले बिरामीलाई राहत पुगेको छ’, इञ्चार्ज न्यौपानेले भने, ‘तर कुनै कारण मेसिन बिग्रिए जिल्लाभरका बिरामी प्रभावित हुने अवस्था आउन सक्छ ।’ उनले हाल प्रयोग भइरहेको मेसिन पुरानो भइसकेकाले वैकल्पिक रूपमा अर्को कम्पोनेन्ट मेसिन आवश्यक रहेको बताए । यसका लागि लुम्बिनी प्रदेश सरकार, घोराही उपमहानगरपालिकासँगै जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरिए पनि आवश्यक पहल हुन नसकेको उनको भनाइ छ ।
जिल्लामा पछिल्ला वर्षमा रक्तदान गर्ने व्यक्तिको सङ्ख्या घट्दै गएको छ । विगतमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमका अवसरमा नियमित रक्तदान हुने गरे पनि पछिल्लो समय त्यस्ता गतिविधि कम हुँदै जाँदा रगत सङ्कलनमा चुनौती थपिएको इञ्चार्ज न्यौपाने बताउँछन् ।
उनका अनुसार स्वास्थ्य संस्थाहरूमा रगतको माग निरन्तर बढिरहेका बेला नियमित रक्तदान अभियानलाई प्रभावकारी बनाउँदै वैकल्पिक उपकरण व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताए । हाल जिल्लामा घोराहीस्थित रक्त सञ्चार केन्द्रसँगै घोराहीको सञ्जीवनी अस्पताल, तुलसीपुर र लमहीबाट ब्लड सङ्कलन गरी बिरामीलाई पु¥याउने काम भइरहेको छ ।