लुम्बिनीका मुख्यमन्त्रीलाई नेविसंघको ज्ञापनपत्र, शिक्षामा २०% बजेटसँगै ‘पेड इन्टर्नसिप’ को माग

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई नेविसंघको ज्ञापनपत्र, शिक्षामा २०% बजेटसँगै ‘पेड इन्टर्नसिप’ को माग
दाङ,२९ जेठ । नेपाल विद्यार्थी संघले शिक्षालाई राज्यको पहिलो प्राथमिकतामा राख्दै कुल बजेटको २० प्रतिशत बजेट बिनियोजनसँगै स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई व्यावहारिक ज्ञान र सिप विकासका लागि पारिश्रमिकसहितको प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्रीसँग माग गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई शुक्रवार ज्ञानपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले शिक्षालाई राज्यको पहिलो प्राथमिकता बनाउँदै सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्न विशेष बजेट बिनियोजन गर्न माग गरेको हो । गुणस्तरीय, सर्वसुलभ तथा समावेशी शिक्षा सुनिश्चित गर्न प्रदेशको कुल बजेटको न्यूनतम २० प्रतिशत बजेट शिक्षाका क्षेत्रमा बिनियोजन गर्न माग गरेको छ ।
त्यस्तै स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई सरकारी कार्यालय, स्थानीय तह तथा सार्वजनिक संस्थानहरुमा कार्यान्ुभव प्राप्त गराउने उद्देश्यले प्रदेशका प्रत्येक जिल्लामा पारिश्रमिकसहितको प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्न माग गरेको छ । यसबाट विद्यार्थीको व्यावहारिक ज्ञान,नेतृत्व क्षमता तथा रोजगारीसम्वन्धी सीप विकास अभिवृद्धि हुने विश्वास गरिएको छ ।

त्यसैगरी डिजिटन गुगको आवश्यकता अनुरुप प्रदेशमा सूचना, प्रविधि, नवप्रवर्तन, स्टार्टअप तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गर्न माग गरेको नेपाल विद्यार्थी लुम्बिनी प्रदेशका अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार हाल कक्षा ५ सम्म सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमलाई आधारभूत तहसम्म विस्तार गरि प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने, यातायात भाडा छुट व्यवस्था स्वःस्फुर्त कार्यान्वयन गर्नुपर्न, मनसुनजन्य विपद व्यवस्थापन तथा पूर्वतयारीलाई प्राथमिकतामा राख्न माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन नेविसंघ लुम्बिनी प्रदेशका अध्यक्ष कुलराज पोख्रेलको नेतृत्वमा महेन्द्र बहुमुखी क्याम्पस स्ववियुका निवर्तमान सभापति मनोज डिसी, नेविसंघ दाङका कार्यवाहक सभापति गुरु गौतम, महेन्द्र बहुमुखी क्याम्पस नेविसंघका नेता सुप्रिम रेग्मी, राप्ती गाउँपालिका नेविसंघ सभापति खुमबहादुर चौधरी, नेविसंघ बंगलाचुली गाउँपालिकाका सभापति जीवन अधिकारीलगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।