बच्चा जन्माउन सबै आमा अस्पताल, जन्मिएका बच्चालाई सबै खोप

खेमराज रिजाल
दंगीशरण, २८ जेठ । दंगीशरण गाउँपालिकाका सबै गर्भवती महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेका छन् । जन्मिएका सबै बालबालिकालाई नेपाल सरकारले सन्चालन गरेको खोप कार्यक्रम अन्तर्गतका सबै प्रकारका खोप लगाइएको छ ।

यी दुवै स्वास्थ्य सूचकमा स्थानीय सरकार ढुक्क भएपछि बुधवार पश्चिम दाङको दंगीशरण गाउँपालिकालाई दाङकै पहिलो पूर्णखोप तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका सुनिश्चितता तथा दिगोपना घोषणा एवम् स्वस्थ शिशु प्रतियोगिता एक समारोहबिच सम्पन्न भएको छ । पूर्ण संस्थागत सुत्केरी सेवा घोषणा गर्ने दंगीशरण दाङकै पहिलो पालिका हो ।

यो प्रतिबद्धता घोषणासँगै अब दंगीशरणका गर्भवती महिलाले कहिल्यै घरमा बच्चा जन्माउने छैनन्, सुत्केरी व्यथा लाग्नासाथ नजिकैको स्वास्थ्य संस्थामा पुग्ने छन् । यसैगरी नेपाल सरकारको खोप कार्यक्रम अन्तर्गतका सबै खोप तोकिएकै उमेरभित्र लगाइ सक्ने छन् । आमादेखि स्वास्थ्यकर्मीसम्म यो विषयमा सचेत बन्ने छन् । यसले दंगीशरण गाउँपालिकालाइ समृद्ध स्वास्थ्यको महाभियानमा एक खुड्किलो माथि उभ्याएको छ । बुधवार आयोजित एक समारोहबिच दंगीशरण गाउँँपालिकालाई दाङ जिल्लाकै पहिलो पूर्णखोप तथा पूर्णसंस्थागत प्रसूति सेवायुक्त पालिकाका रूपमा घोषणा गरिएको हो ।

सो अवसरमा जिल्लाका धेरै आमाहरूको उत्साहजनक सहभागिता थियो । सहभागीमध्ये केहीलाई पालिकाले बालबालिकालाई कुपोषण लाग्नबाट जोगाउन सन्तुलित भोजन बक्ससमेत उपहार दिएको थियो । त्यसमा अण्डा, फलफूललगायतका आहार थिए । कार्यक्रम गाउँँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता, जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष चेतना चौधरीको प्रमुख आतिथ्यता तथा गाउँँपालिका उपाध्यक्ष पिमाकुमारी वली खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

स्वास्थ्य कार्यलय दाङका प्रमुख डिबी गुरुङ, खोप फोकल पर्शन भानुज्योति वली तथा मातृशिशु स्वास्थ्य प्रवर्धन कार्यक्रम संयोजक रिता न्यौपानेलगायतको कार्यक्रममा सहभागिता थियो । सोही दिन पालिकाले आयोजना गरेको ‘हेल्दी बेबी कम्पिटिसन’मा भाग लिन नानीबाबु लिएर आएका आमाहरू पनि घोषणा सभालाई चासो दिएर नियालिरहेका थिए ।

कार्यक्रममा गाउँँपालिकाका सात वटै वडाका महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिएको थियो । स्वस्थ शिशु प्रतिस्पर्धामा सहभागी २८ जना शिशुमध्ये उत्कृष्ट स्वास्थ्य अवस्था भएका चार जना शिशुलाई नगद पुरस्कार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

पुरस्कार थाप्ने आमाहरूको चेहरामा स्वस्थ बच्चाको मुस्कान देखिन्थ्यो । लाग्थ्यो, सायद यो पुरस्कार पनि ती आमाहरूले बच्चाको पोषण व्यवस्थापनमै खर्च गर्ने छन् ।

घोषणा तथा प्रतिबद्धता सभामा बोल्दै प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका उपसंयोजक चौधरीले नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेका सबै प्रकारका खोप पाउनु बालबालिकाको संविधान प्रदत्त अधिकार भएको उल्लेख गर्दै खोज र खोपको अभियानलाई आगामी वर्षमा सुनिश्चितता गर्दै लैजान आग्रह गरिन् ।

‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेको तथा आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पूर्ण खोप पर्ने भएकाले सबै बालबालिकालाई खोप लगाउनबाट वञ्चित गराउनु मौलिक हकविपरीत हो’, प्रमुख अतिथि चौधरीले भनिन्, ‘यो अभियानलाई दिगो बनाउन सबैको साथ र सहयोग आवश्यक छ ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय दाङका प्रमुख गुरुङले दंगीशरण गाउँपालिका स्वास्थ्यका इन्डिकेटरमा माथि उक्लँदै गएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा पालिकालाई पूर्ण पोषणमैत्री पालिका घोषणा गर्नतर्फ जागरुक बन्न सुझाव दिए । उनले पूर्णखोप तथा पूर्ण संस्थागत सुत्केरी कार्यक्रमको चेतना जनस्तरसम्मै फैलाउन आग्रह गरे ।
‘अझै पनि कहीँकतै समस्या छन्, ती समस्यालाई चिर्दै पूर्णखोप अभियानलाई दिगोपना दिन घरघरमा सचेतना आवश्यक छ’, विशिष्ट अतिथिसमेत रहेका स्वास्थ्य प्रमुख गुरुङले भने । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्याबहादुर नेपालीले पालिकालाई समृद्ध स्वास्थ्यको नमुना बनाउन आफूहरू सधैँ गम्भीर रहेको बताए ।

गाउँँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीका अनुसार स्वस्थ शिशु प्रतिस्पर्धामा सहभागी शिशुहरूको मूल्याङ्कन विभिन्न सूचकका आधारमा गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको संयोजकत्वमा गठित समिति अन्तर्गत जनस्वास्थ्य अधिकृत स्वीकृति देवकोटा संयोजक रहेको समितिले उत्कृष्ट शिशु छनोट गरी नगद तथा प्रमाणपत्रसहित सम्मान गरेको हो ।

सोही अवसरमा गाउँँपालिकाका सात वटै वडालाई सम्मान गर्नुका साथै लामो समयसम्म महिला स्वास्थ्य स्वयम्सेविकाका रूपमा सेवा पु¥याई अवकाश प्राप्त गरेका स्वयम्सेविकालाई सम्मान गरिएको थियो । आधारभूत स्वास्थ्य सेवा केन्द्र रामपुरका प्रमुख दामोदर शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीले गरेका थिए ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका प्रमुख गिरीले दंगीशरणलाई स्वास्थ्यका हिसाबले समृद्ध पालिका बनाउन आफूहरू कटिबद्ध रहेको उल्लेख गर्दै यो कार्यक्रमको आयोजना गर्न हौस्याउने सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकादेखि पालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे । आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रका सबै अभियानलाई सार्थकतापूर्वक सम्पन्न गराउन पालिका सदैव जागरुक रहने प्रतिबद्धता व्यक्त गरे ।