जेसीज सप्ताह : विद्यार्थीलाई वित्तीय साक्षरतासम्वन्धी प्रशिक्षण

दाङ, २६ जेठ । दाङ महिला जेसीजले ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत युवाहरुसँग वित्तीय साक्षरतासम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । जेसीज सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन मंगलवार घोराही उपमहानगरपालिका–१४ स्थित अम्बिकेश्वरी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

दाङ महिला जेसीज अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरूले आर्थिक अनुशासन, बचत संस्कृतिको विकास र जिम्मेवार वित्तीय व्यवहारका लागि वित्तीय साक्षरता अपरिहार्य रहेकोमा जोड दिएका थिए । उनीहरूले बढ्दो उपभोगमुखी प्रवृत्तिका बीच आय र खर्चको सन्तुलन कायम गर्दै भविष्यका लागि बचत गर्ने बानी विकास गर्न युवापुस्ताले वित्तीय ज्ञान हासिल गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा त्रिभुवननगर जेसीजका सदस्य तथा चार्टर्ड एकाउन्टेन्ट (सि.ए.) दिपक सेट्ठीले वित्तीय साक्षरतासम्बन्धी विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष रमेश पाण्डेय, अम्बिकेश्वरी क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले युवामा सकारात्मक सोच र आर्थिक चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रम संयोजक रेमन्ता पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताहका बारेमा सप्ताहव्यापी कार्यक्रमकी मुल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष आराधना सिंह ठकुरीले जानकारी गराएकी थिइन् । कार्यक्रममा दीपा पुनले जेसीज आस्थापाठ गराएकी थिइन् भने कार्यकारिणी उपाध्यक्ष भीमा डिसीले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण महासचिव बसन्ती सुवेदीले गरेकी थिइन् ।

दाङ महिला जेसीजले जेठ २३ देखि ३० गतेसम्म विभिन्न सामाजिक, शैक्षिक,साहित्यिकसँगै चेतनामुलक कार्यक्रम गरि ‘जेसीज सप्ताह–२०२६’ मनाउन थालेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौ दिन दाङ महिला जेसीजले बुधबार बिहान घोराहीमा स्लो स्कुटी रेस प्रतियोगिता आयोजना गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रम विहान सात बजेदेखि घोराही–१५ स्थित जिल्ला समन्वय समिति अगाडिको सडकमा सुरु हुने दाङ महिला जेसीजले जनाएको छ ।