दाङ,२० जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौँदेखि बिग्रिएर थन्किएका पाँच वटा हेमोडायलासिस मेसिन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएपछि मिर्गौला रोगका बिरामीलाई सहजता भएको छ ।
मेसिन बिग्रिएर लामो समयदेखि प्रयोगविहीन बनेपछि डायलासिस सेवाका लागि बिरामीहरू पालो कुर्नुपर्ने बाध्य हुँदै आएको थियो । बिग्रिएका मेसिन मर्मतपछि पुनः सञ्चालनमा आएपछि सेवा क्षमता बढेको प्रतिष्ठानले जनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीका अनुसार पोखराबाट हेमोडायलासिससम्बन्धी प्राविधिक विज्ञको टोली बोलाएर बिग्रिएका मेसिन मर्मत गरिएको हो । उनले मेसिन सञ्चालनमा आएपछि डायलासिस सेवा थप प्रभावकारी बनेको बताएका छन् ।
‘पहिले मेसिन अभावका कारण बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्था थियो’, निमित्त कार्यालय प्रमुख डा. रसाइलीले भने,‘बिग्रिएका मेसिनलाई मर्मत गरेर सञ्चालनमा ल्याएपछि थोरै भएपनि सेवा क्षमता बढेको र यसले बिरामीलाई सहजता भएको छ ।’ उनका अनुसार मेसिन सञ्चालनमा आएपछि आपत्कालीन अवस्थाका कारण डायलासिसको प्रतिक्षामा रहेका २२ जना बिरामीको संख्या घटेर तीन जनामा झरेको छ । साथै दैनिक थप ११ जना मिर्गौला रोगका बिरामीले डायलासिस सेवा प्राप्त गर्न थालेका छन् ।
हाल प्रतिष्ठानमा १५ वटा हेमोडायलासिस मेसिन सञ्चालनमा रहेका छन् । तीन सिफ्टमा सञ्चालन हुने डायलासिस सेवाबाट दैनिक ३३ जना बिरामीले सेवा लिदै आएका छन् । बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने सेवाबाट हाल ९१ जना मिर्गौला रोगीले नियमित उपचार लिइइरहेको निमित्त कार्यालय प्रमुख डा. रसाइलीले जानकारी दिएका छन् । सेवालाई प्रभावकारी बनाउन नर्सिङ इञ्चार्जसहित १८ जना नर्सिङ जनशक्तिलाई विशेष तालिम समेत प्रदान गरिएको छ ।
प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शिरिष बुढाथोकीको नेतृत्वमा बायोमेडिकल टेक्निसियन आशिष गौतम र अंकित अधिकारीसहितको टोलीको लामो प्रयासपछि बिग्रिएका मेसिन पुनः सञ्चालनमा ल्याउन सफल भएका हुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक आइसियुमा रहेका मिर्गौला रोगका बिरामीलाई लक्षित गरी आइसियुभित्रै डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । यो सेवाले जटिल अवस्थामा रहेका बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्दै आएको प्रतिष्ठानले जनाएको छ ।