प्रिया स्मृती गजमेर
देउखुरी, ८ जेठ । लमहीमा नगरपालिका स्तरिय विपद व्यवस्थापन समितिको बैठक आज सम्पन्न भएको छ । बैठकमा विपदका बेला प्रभावित नागरिकलाई राहत व्यवस्थापन तथा वितरण कसरी प्रभावकारी बनाउने, खरिद गरिएका सामाग्रीलाई विपद स्थलमा कसरी उपयोग गर्ने, निर्णय कार्यान्वयनको अवस्था कसरी मजबुत बनाउने तथा स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवालाबीच समन्वय कसरी प्रभावकारी गर्ने भन्ने विषयमा गहन छलफल गरिएको हो ।
बैठकमा बोल्दै नगर प्रमुख जोगराज चौधरीले विपद व्यवस्थापनका कामलाई सबै पक्षको साझा जिम्मेवारीका रुपमा लिनुपर्ने बताए । उनले विपद आउनुअघि नै आवश्यक तयारी, जनशक्ति परिचालन र राहत सामग्रीको व्यवस्थापन स्पष्ट हुनुपर्नेमा जोड दिए । नगर प्रमुख चौधरीले स्थानीय तह, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाबीचको सहकार्य बलियो भए मात्र विपदका बेला नागरिकलाई छिटो र प्रभावकारी सेवा दिन सकिने उल्लेख गरे । भयो ।
उपप्रमुख लक्ष्मी योगीले विपदको समयमा प्रभावित परिवारसम्म राहत सामग्री निष्पक्ष र व्यवस्थित ढंगले पुर्याउन आवश्यक रहेको बताइन । उनले विपद पूर्वतयारीका कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रुपमा विस्तार गर्नुपर्ने धारणा राखेकी थिइन । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ रिजर्भ गण हेक्वा लमहीका डिएसपी इश्वरीदत्त भट्टले विपदको समयमा सुरक्षा निकाय सधैँ तयारी अवस्थामा रहेको बताउँदै उद्धार, राहत तथा खोज कार्यमा समन्वयात्मक भूमिका महत्वपूर्ण हुने बताए ।
लमही नगरपालिका–१ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी र वडा नं. ५ का अध्यक्ष ओमप्रसाद सुवेदीले विपद व्यवस्थापनका निर्णय व्यवहारिक र कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका थिए । स्थानीय तहमा आवश्यक स्रोतसाधनको उपलब्धता र पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्नेमा बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी लमहीका सभापति शिवलाल भण्डारी, नेकपा एमालेका लमही नगर इन्चार्ज रतनकुमार केसी र राष्ट्रिय जनमोर्चा लमहीका अध्यक्ष वासुदेव भट्टराईले स्थानीय स्तरमै विपद प्रतिकार्य क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । विपद व्यवस्थापनका निर्णय कार्यान्वयनमा सबै निकाय जिम्मेवार बन्नुपर्ने उनीहरुको धारणा थियो ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले विपदका बेला सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीका सभापति थानेश्वर गैरेले मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विपद प्रभावितलाई राहत तथा सहयोग उपलब्ध गराउन सबै निकायबीच सहकार्य आवश्यक रहेको बताए ।
लमही नगरपालिकामा लामो समय विपद शाखाको जिम्मेवारी बहन गर्नु भएकी हाल जिन्सी शाखा प्रमुख गायत्री थापाले नगरपालिकामा विपद पूर्व तयारीमा पालिकाको अवस्थाका बारेमा जानकारी दिएकी थिइन । विपदका बेला तत्काल उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन आवश्यक संरचना र संयन्त्रलाई सक्रिय राखिएको जानकारी दिइन ।
आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी नेपाल) का निलम त्रिपाठीले समुदायमा विपद सम्बन्धी सचेतना र पूर्वतयारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रमुख ललिताकुमारी कडायतले विषय प्रवेश गराएकी थिइन भने कार्यक्रमको सहजीकरण प्रियास्मृती गजमेरले गरेका थिए ।