तुलसीपुरको शितलपुरमा हाटबजार सञ्चालन

तुलसीपुर, ३१ बैशाख । तुलसीपुरको सितलपुरमा कृषि हाटबजार सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१२ को आयोजनामा विहिवार उक्त हाटबजार उद्घाटन गरिएको हो । कृषकले उत्पादन गरेको तरकारी बिचौलियामार्फत बिक्री गर्दा उचित मूल्य नपाएको गुनासो बढिरहेका बेला हाटबजार सञ्चालन भएपछि किसान प्रत्यक्ष बजारसँग जोडिने अपेक्षा गरिएको छ ।

हाटबजार उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले कृषकले उत्पादन गरेको तरकारी सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता अब अन्त्य हुने बताए । उनले कृषि हाटबजारमार्फत किसानले आफ्नै उत्पादनको उचित मूल्य पाउने र आम्दानीसमेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिने जानकारी दिँदै तरकारीमा प्रयोग हुने विषादी न्यूनीकरण गर्न कृषि ल्याब स्थापना गरिने बताए । विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नगर उपप्रमुख स्यानी चौधरीलेअबको समय कृषकको समय भएको बताइन् । कृषि हाटबजार सञ्चालनसँगै किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्दै उनले सितलपुरमा उत्पादन हुने अर्गानिक तरकारी उपभोग गर्न तुलसीपुरवासीलाई आग्रह गरिन् । उनले बाहिरबाट आउने तरकारीमा अत्यधिक विषादी प्रयोग हुने भएकाले स्थानीय करेसाबारीमा उत्पादन भएका शुद्ध तरकारी स्वास्थ्यका लागि लाभदायक हुने बताइन् ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत केशव पार्धेले गाउँ–गाउँमा सडक कालोपत्रे गर्नु मात्रै विकास नभएको उल्लेख गर्दै कृषिमा लगानी बढाउँदा नागरिकको जीवनस्तरमा वास्तविक सुधार आउने बताए । आगामी बजेटमा कृषि क्षेत्रलाई थप प्राथमिकता दिइने उनले जानकारी दिए ।

वडा नम्बर–१२ का अध्यक्ष खुसीराम चौधरीले गाउँमै उत्पादन भएको ताजा तरकारी किसानले सिधै बिक्री गर्न पाउने वातावरण बनेकोमा खुसी व्यक्त गरे । अब गाउँ–गाउँ डुलेर तरकारी बेच्नुपर्ने बाध्यता हटेको भन्दै उनले हाटबजारलाई सकारात्मक सोचका साथ अगाडि बढाउन सबैसँग आग्रह गरे ।

कार्यक्रममा विभिन्न स्थानका तरकारी व्यवसायी तथा कृषकले समेत आफ्नो धारणा राखेका थिए । हाटबजारमा कृषकहरूले आफूले उत्पादन गरेका तरकारीको प्रदर्शनी तथा बिक्री वितरण गरेका थिए । कार्यक्रमको सहजीकरण कृषि हाटबजारका सचीव नबराज रावतले गरेका थिए ।