पार्वती बस्नेत
दाङ,३१ बैशाख । दाङको देउखुरीस्थीत राजपुर गाँउपालिकामा ग्रामीण महिला उत्थान केन्द्र दाङ, हेफर प्रोजेक्ट नेपाल र राजपुर गाँउपालिकाको साझेदारीमा सञ्चालित ‘साना किसान तथा युवा उद्यमशीलता साझेदारी विकास परियोजना (भिटा)अन्तर्गत महिला किसानहरूलाई दाना पिस्ने मेसिन र बिउ बेसार वितरण गरिएको छ ।
परियोजनाका लक्षित वडाहरूका उद्यमशील महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित यो कार्यक्रममा जम्मा ७१ क्विन्टल बिउ बेसार र ४ वटा दाना पिस्ने मेसिन हस्तान्तरण गरिएको हो। राजपुर गाँउपालिकाका वडा नम्बर २, ३, ४ र ७ का किसानहरूलाई खसी–बाख्रा र भैंसीको पोषिलो दाना तयार गर्नका लागि ४ वटा दाना पिस्ने मेसिन हस्तान्तरण गरिएको हो।
त्यसैगरी, ३ कठ्ठा वा सोभन्दा बढी क्षेत्रफलमा बेसार खेती गर्ने महिला किसानहरूलाई प्रति कठ्ठा ८५ केजीका दरले बिउ बेसार र खेतीका लागि आवश्यक औषधी पनि उपलब्ध गराइएको छ। संस्थाकी अध्यक्ष आसमानी चौधरीले भन्नुभयो, ‘यो परियोजना महिलाहरूलाई केवल सहायता दिने होइन, उनीहरूलाई आफ्नै खुट्टामा उभिन सक्षम बनाउने कार्यक्रम हो। हामी व्यावसायिक कृषि र पशुपालन मार्फत महिलाको आर्थिक स्तर उकास्न प्रतिबद्ध छौं।’ उहाँका अनुसार मेसिन प्राप्त महिलाहरूले समूहका अन्य सदस्यहरूलाई न्यूनतम शुल्कमा दाना पिस्न सेवा दिनुपर्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रममा कृषि प्राविधिक नारायण खत्रीले बेसार रोप्नुअघि अपनाउनुपर्ने बिउ उपचारका विधिबारे किसानहरूलाई व्यावहारिक प्रशिक्षण दिनुभयो। उहाँले रोगमुक्त र उत्पादनशील बेसारका लागि बिउ उपचार अनिवार्य रहेको बताउनुभयो। राजपुर गाँउपालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवले यस कार्यक्रमको प्रशंसा गर्दै भन्नुभयो, ‘महिलाको क्षमता विकास गरी उनीहरूलाई सिपयुक्त र आत्मनिर्भर बनाउने यस अभियानमा ग्रामीण महिला उत्थान केन्द्र र हेफर प्रोजेक्ट नेपालले गर्नुभएको सहयात्रा अत्यन्त सराहनीय छ।’
भिटा परियोजना अन्तर्गत राजपुर गाँउपालिकामा भकारो सुधार, बाख्रा तथा भैंसी नमुना गाँउ, टनेल खेती, अर्गानिक तरकारी उत्पादन, भर्मी कम्पोस्ट मल उत्पादन, बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको स्थापना लगायत विविध कार्यक्रमहरू सञ्चालनमा छन्। सामाग्री हस्तान्तरण कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आचार्य, डा गान्धीराज उपाध्याय, महिला समूहका सदस्यहरू र स्थानीय प्रतिनिधिहरू सहभागी थिए।