मासिक ४ लाख आम्दानी गर्दै ड्राइभर पेसामा संघर्षरत कृष्ण गुरुङको भन्छन, “सीप सिकेर मात्र विदेश आउनु”

शिवराज खनाल

क्रोसिया,२८ बैशाख । धादिङको निलकण्ठ नगरपालिका–२ भुलभुले निवासी ४७ वर्षीय कृष्ण गुरुङ अहिले क्रोसियामा ड्राइभर पेसामार्फत मासिक करिब ४ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्।

करिब पाँच वर्षअघि रोजगारीको सिलसिलामा क्रोसिया पुगेका गुरुङ अहिले त्यहाँको एक कम्पनीमा कामदारहरूको बसारपसार गर्ने जिम्मेवारी सम्हालिरहेका छन् । दैनिक रूपमा कम्पनीका कामदारलाई कार्यस्थलसम्म पुर्‍याउने र ल्याउने काम गर्दै आएका गुरुङले मेहनत, अनुशासन र अनुभवका कारण राम्रो आम्दानी गर्न सफल भएको बताउँछन्।

क्रोसिया पुगेपछि उनले नेपाली ड्राइभिङ लाइसेन्सलाई युरोपेली लाइसेन्समा परिवर्तन गर्न करिब ३०० युरो खर्च गरेको बताए। नेपाली रुपैयाँमा यो रकम करिब ३५ हजार रुपैयाँ बराबर पर्छ। वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाहरूका लागि यो प्रक्रिया महत्वपूर्ण हुने उनको अनुभव छ।

विदेशमा देखिने चमकधमक सबैका लागि समान नहुने भन्दै गुरुङले युवाहरूलाई स्पष्ट सन्देश दिएका छन्। उनले भने, “सकेसम्म आफ्नै देशमा केही काम गरेर बस्नुपर्छ। यदि विदेश जानै परे कुनै न कुनै सीप सिकेर मात्रै आउनुहोस्, नत्र पराइ देशमा धेरै दुःख पाइन्छ।”

उनका अनुसार युरोप पुगेपछि सबैको जीवन सहज नहुने र थोरै मानिस मात्र राम्रो अवस्थामा पुग्ने गरेका छन्। धेरै नेपालीहरूले अपेक्षा गरेजस्तो सफलता नपाउने गरेको उनले आफ्नै अनुभव सुनाए।

विदेशमा संघर्ष गर्दै सफलता हासिल गरिरहेका गुरुङको अनुभव र सन्देश अहिले वैदेशिक रोजगारीको तयारीमा रहेका युवाहरूका लागि महत्वपूर्ण हुन सक्छ।