प्रतिष्ठानको जग्गा अतिक्रमण : खाली गराउन दबाब, पुनर्बासको व्यवस्था नभए जग्गा नछोड्ने अडान

गोरक्ष समाचारदाता
दाङ, १५ वैशाख । दाङको घोराही उपमहानगरपालिका–१४ मा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिगाहभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । उक्त जग्गा खाली गराउनका लागि प्रतिष्ठानले पहल गर्दै आएको भए पनि अहिलेसम्म समस्याको समाधान हुन सकेको छैन ।
जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापनसँगै शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार, पार्किङस्थल निर्माणलगायतका काम गर्न नसकेको प्रतिष्ठान प्रशासनले जनाएको छ । प्रतिष्ठानको अतिक्रमणमा परेको जग्गा खाली गराउनका लागि आवश्यक समन्वय तथा सहजीकरण गरिदिनका लागि २०८२ चैत १८ गते गृह मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सहरी तथा सभा समारोह व्यवस्थापन शाखाले पनि जिल्ला प्रशान कार्यालय दाङलाई पत्राचार गरेको थियो ।
उक्त जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी भूमिहिनले भने पुनःबासको व्यवस्थापन भए मात्र बसेको ठाउँ खाली गर्ने बताउँदै आएका छन् । आफ्नो जग्गा नभएको कटुवाखोलामा गिट्टी कुट्दा कुट्दै बाध्यताले खोलाको ढिकमा बस्नु परेको बताउँदै घोराही–१४ खोलीगाउँ निवासी स्थानीय भीमा कामीले स्थायी बसोबासको ग्यारेण्टी भए अनेत्र जान तयार रहेको बताउँछिन् । अन्त आफ्नो बस्ने ठाउँ समेत नभएकाले बाध्य भएर खोलाको छेउमा बस्दै आएको भन्दै उनले भनिन्,‘आफ्नो जग्गा भएको भए, यो खोलाको ढिकमा अर्काको जग्गामा कसलाई बस्ने रहर हुन्छ ?, बस्ने राम्रो ठाउँको व्यवस्था गरिदिए, जान तयार छाँै ।’ काठमाडौंलगायतका ठाउँमा सुकुम्बासी तथा भूमिहिन बसोबास गरेको ठाउँमा डोजर लगाएर हटाउँदा आफूहरूलाई समेत कतिबेला हटाउने हो भन्ने चिन्ता थपिएको बताउँछिन् ।
भीमा कामीको जस्तै भनाई छ, खोलीगाउँमा टोलमा बस्दै आएका मानबहादुर बुढाको पनि । विगत २०४० सालदेखि खोलीगाँउमा बस्दै आएका बुढाले अहिले हटाउन खोज्दा कहाँ जाने भन्ने चिन्ता थपिएको बताउँछन् । ‘खोलाको ढिक भए पनि सानो घर बनाएर बस्दै आएका छौैँ, दिनभर बजारमा काम गरेर बस्ने ठाउँ भएको छ’, बुढाले भने,‘यहाँबाट उठाए कहाँ जाने ?, जाने ठाउँ छैन ? उठाउनै पर्ने अवस्था आए बस्ने ठाउँको व्यवस्था गरिदिनुपर्छ । नत्र अन्त कतै जान सक्ने अवस्था छैन ।’ भीमा र मानबहादुरको जस्तै खोलीगाउँमा बस्ने अधिकांशको माग पुनः नउठाउने गरी अनेत्र व्यवस्थापन गरिनु पर्ने छ । अहिले जस्तो पछि नउठाउने गरी कुनै ठाउँमा व्यवस्थापन गरिदिए जाने बताउँछन् ।
घोराही उपमहानगरपालिका–१४ की वडा सदस्य समेत रहेकी रचना कुमालका अनुसार प्रतिष्ठानको भनिएको जग्गामा अहिले एक सय ५९ घरपरिवार बसोबास गर्दै आएका छन् । जसमध्ये पुलचोक खोलीगाउँमा ५४ र ट्राफिकचोक खोलीगाउँ टोलमा १०५ घरपरिवार बस्दै आएका छन् । आफ्नो जग्गा अतिक्रमणमा पर्दा फोहोर व्यवस्थापनसँगै शैक्षिक कार्यक्रमका लागि आवश्यक भौतिक पूर्वाधार विस्तारसँगै पार्किङस्थल निर्माणलगायतका संरचना निर्माणमा समस्या भइरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा. जनार्दन पन्थी बताउँछन् ।
उनका अनुसार प्रतिष्ठानको सेवा विस्तारसँगै शैक्षिक कार्यक्रम सञ्चालन गर्दा आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेपनि त्यही बस्तीका कारण समस्या भइरहेको छ । ‘प्रतिष्ठानको सेवा विस्तारसँगै बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ, अर्कातिर प्रतिष्ठानले शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएकाले भौतिक पूर्वाधार विस्तार गर्नु पर्ने आवश्यक छ’,निमित्त निर्देशक पन्थीले भने,‘तर भएको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भइरहेको छ । फोहोर व्यवस्थापन गर्न सकेका छैनौँ ।’
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, उक्त जग्गामा बसोबास गर्दै आएका स्थानीयसँगै घोराही उपमहानगरपालिकासँग समन्वय गरी वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थापनसहित जग्गाको समस्या समाधान गरिने बताउँछन । उचित बसोबासको व्यवस्थापन नगरी उठाउँदा थप समस्या हुने भएकाले छलफलका माध्यमबाट समस्या समाधान गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन् । प्रतिष्ठानले भने वास्तविक सुकुम्बासीभन्दा अन्य व्यक्तिले नै प्रतिष्ठानको जग्गा अतिक्रमण गरेको भन्दै जग्गा खाली गराउनका लागि पहल गर्दै आएको छ ।