Goraksha

National Daily

जेष्ठ नागरिक सेवा केन्द्रको १८ औं साधारणसभा

दाङ,२१ चैत । जेष्ठ नागरिक सरोकार केन्द्रको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित द्रौपताकुमारी लोहनी÷लक्ष्मीनारायण मन्दिरद्वारा सञ्चालित जेष्ठ नागरिक सेवा केन्द्रको शनिबार साधारणसभा तथा स्मारिका लोकार्पण कार्यक्रम भएको हो ।

जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष भुपाल गिरीको अध्यक्षता तथा अग्रज समाजसेवी एकराज शर्माको प्रमुख आतिथ्यतामा भएको बार्षिक साधारणसभाका अवसरमा बोल्ने वक्ताहरूले जेष्ठ नागरिक सरोकार केन्द्रले सहाराविहीन जेष्ठ नागरिकको संरक्षण, हेरचाह तथा सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका थिए । साथै सहभागीले जेष्ठ नागरिकलाई वृद्धआश्रमसम्म आउने वातावरण नहुने गरि समाज चेतनाको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा समाजसेवी डा. भोलानाथ योगी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, चन्द्रराज पन्त, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयका शिवलाल महतरा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, रोटरी क्लब दाङका अध्यक्ष रोशन दाहाल, दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यलगायतले मन्तव्य व्यक्त गर्दै जेष्ठ नागरिकको सेवामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

बार्षिक साधारणसभामा जेष्ठ नागरिक सेवा केन्द्रका सचिव तिलक केसीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष श्यामप्रकाश आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिक साधारणसभाका अवसरमा अक्षकोष स्थापना गर्ने तथा केन्द्रलाई सहयोग पु¥याउने विभिन्न संघसंस्था एवं व्यक्तित्वलाई सम्मान गरिएको थियो । त्यसैगरी, रोटरी क्लब दाङ र जेष्ठ नागरिक सेवा केन्द्रबीच आगामी १० वर्षसम्म जिल्लाभित्र उपचारका लागि जेष्ठ नागरिकलाई लैजाँदा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ। विगत दुई वर्षदेखि सञ्चालनमा रहेको यस सेवालाई निरन्तरता दिने सहमतिपत्र आदानप्रदान गरिएको थियो ।

जेष्ठ नागरिक सरोकार केन्द्रकी उपाध्यक्ष पार्वतीदेवी लोहनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव तिलक केसीले गरेका थिए । जेष्ठ नागरिक सरोकार केन्द्रमा अहिले ११ जना जेष्ठ नागरिक बस्दै आएका छन् ।