Goraksha

National Daily

केपी ओली र रमेश लेखकलाई आज अदालत लगिदै

गोरक्ष समाचारदाता
काठमाडौं, १५ चैत । प्रहरीले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेका पूर्व केन्द्रीय सदस्य तथा तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि दमन गरेको आरोपमा गौरीबहादुर कार्की नेतृत्वको सत्यतथ्य जाँचबुझ आयोगले दोषी देखाएपछि प्रहरीले शनिवार विहान उनिहरुलाई पक्राउ गरेको हो ।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते ७६ जनाको मृत्युसम्बन्धी घटनामा अनुसन्धानका लागि प्रहरीले ओली र लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।

त्यस्तै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु अर्याल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालविरुद्ध हेलचेक्राइ अन्तर्गत फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदनको सिफारिसमध्ये सुरक्षाकर्मीहरू जोडिएको विषयमा अध्ययन गर्न कार्यदल बनाउने तथा बाँकीका हकमा तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि प्रहरीले जरूरी पक्राउ पुर्जी दिएर ओली र लेखकलाई पक्राउ गरेको हो ।

अदालतले शनिवार प्रहरीले जारी गरेको जरूरी पक्राउ पुर्जीलाई समर्थन गरिदिएन भने ओली र लेखक दुवै जना आइतवार छुट्नेछन् । तर, त्यसरी छुटे पनि उनीहरूमाथिको अनुसन्धान भने रोकिने छैन । अदालतले पुर्जी समर्थन गरिदियो भने त्यसपछि सरकारी वकिलले थप अनुसन्धानका लागि ओली र लेखकलाई हिरासतमा राख्न म्याद माग्ने छन् ।

अदालतमा अनुमति दिएपछि प्रहरीले ओली र लेखकलाई हिरासतमै राखेर सोधपुछ गर्ने तथा बयान लिनेछन् । प्रहरीले कार्की आयोगको प्रतिवेदन, त्यसलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय, गृह मन्त्रालय स्वयम्ले दिएको किटानी जाहेरी, मृतकका पोष्टमोर्टम रिपोर्ट, घटनास्थल मुचुल्का, सीसीटीभी फुटेज आदि जस्ता प्रमाणका आधारमा उनीहरूमाथि ज्यान मुद्दाको अनुसन्धान गरेको बताएकको छ ।

ओली पक्राउ परेपछि नेकपा एमाले बर्तमान सरकारले प्रतिशोधको राजनीति सुरु गरेको भन्दै पक्राउको विरोधमा देशभर विरोध प्रदर्शन गरेको छ । नेकपा एमाले तथा युवाले काठमाडौलगायतका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले आधिकारिक रुपमा विरोध प्रदर्शन नगर्ने बताएपनि देशका विभिन्न जिल्लामा कार्यकर्ताहरू विरोधमा उत्रिएका छन् । प्रदर्शनकारीले ओली र लेखकको रिहाईको मागसमेत गरेर शनिवार प्रदर्शन गरेका छन् ।

‘सरकार संयमित नभए देश द्वन्द्वतर्फ जान सक्छ’

नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने चिन्ता व्यक्त गरेको छ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् गृहमन्त्री रमेश लेखक पक्राउपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले पाँचबुँदे धारणा सार्वजनिक गर्दै सरकार उत्तेजनामा आउन नहुने बताएका छन् ।

‘भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढङ्गले अनुसन्धान, अभियोजनलगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ’, प्रवक्ता चालिसेद्वारा जारी वक्तव्यमा भनिएको, ‘हामी प्रस्ट गर्न चाहान्छौँ; भदौ २३ गतेको घटनामा संलग्नसँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ ।’

दुवै दिनको घटनामा संलग्न जो सुकै भए पनि कारबाही हुनु पर्ने र त्यसमा पार्टीको सहयोग रहने कांग्रेसको धारणा छ । ‘तर त्यो कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानुनी प्रक्रिया बमोजिम हुनुपर्छ’, वक्तव्यमा भनिएको छ, ‘यसमा सरकार स्वयम् संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुन सक्छ, देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ, अतः यसतर्फ गम्भीर बन्न सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।’