पुरस्कारका लागि किसान खोज्दै पालिका
अमरराज आचार्य
दाङ, ३ चैत । राप्ती गाउँपालिकाले उत्कृष्ट गहुँ उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्न नगद पुरस्कार प्रदान गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रतिइकाइ क्षेत्रफलमा सबैभन्दा बढी गहुँ उत्पादन गर्ने कृषकलाई छनोट गरी पुरस्कार प्रदान गर्ने भएको हो ।
स्थानीय तहले कृषि उत्पादन वृद्धि तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गर्न थालेको हो । गहुँ उत्पादन बढाउन र कृषकलाई आधुनिक खेतीतर्फ आकर्षित गर्न ‘कृषक सम्मान कार्यक्रम’ सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र गहुँ खेती गर्ने कृषकमध्ये उत्पादनका आधारमा उत्कृष्ट कृषक छनोट गरी नगद पुरस्कार प्रदान गरिने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिए । उनका अनुसार पहिलो हुने कृषकलाई १२ हजार रुपैयाँ, दोस्रो हुनेलाई १० हजार रुपैयाँ र तेस्रो हुने कृषकलाई आठ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक कृषकले तोकिएका मापदण्ड पूरा गरेको हुनु पर्नेछ । कम्तीमा पाँच कट्ठा क्षेत्रफलमा गहुँ खेती गरिएको हुनु पर्ने र खेती गरिएको स्थान स्पष्ट खुलाउनु पर्ने उल्लेख गरिएको छ । यसैगरी उत्पादन मापनका लागि करिब १० वर्गमिटर क्षेत्रफलको नमुना प्लट छुट्याई उक्त नमुना प्लटबाट उत्पादनको नमुना सङ्कलन गरी वास्तविक उत्पादनको आधारमा मूल्याङ्कन गरिने गाउँपालिकाले जनाएको छ ।
उत्पादनको मापन तथा अभिलेख सङ्कलन गर्ने काम राप्ती गाउँपालिका कृषि विकास शाखाको रोहवरमा गरिनेछ । कृषकले गहुँ काट्ने तथा झार्ने समय अघि नै कृषि विकास शाखालाई जानकारी गराउनु पर्नेछ । यसरी सङ्कलन गरिएको तथ्याङ्कका आधारमा उत्कृष्ट उत्पादन गर्ने कृषकको छनोट गरिने जनाइएको छ । गाउँपालिकाले कार्यक्रमका लागि आवश्यक कागजात पनि तोकेको छ । कार्यक्रममा सहभागी हुन चाहने कृषकले अनुसूची–१ बमोजिमको निवेदन र अनुसूची–२ अनुसारको विवरणसहित आवेदन दिनु पर्नेछ । त्यसका साथै आवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिसपत्रसमेत अनिवार्य रूपमा पेस गर्नु पर्ने व्यवस्था गरिएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गाउँपालिकाको कृषि विकास शाखामा निवेदन पेस गर्नु पर्ने जनाइएको छ । तोकिएको समयभित्र आवेदन नदिने कृषक कार्यक्रमका लागि अयोग्य ठहरिने गाउँपालिकाले स्पष्ट पारेको छ । स्थानीय तहले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गर्न लागेको यस्तो कार्यक्रमले कृषि उत्पादन वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
विशेष गरी गहुँ जस्ता प्रमुख खाद्यान्न बालीको उत्पादन बढाउन यसले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । कृषकलाई प्रतिस्पर्धात्मक ढङ्गले खेती गर्न प्रेरित गर्ने र उत्पादन लागत घटाउँदै उत्पादन वृद्धि गर्ने वातावरण बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । पछिल्ला वर्षहरूमा कृषि उत्पादनमा आएको उतारचढाव, मौसमीय जोखिम र उत्पादन लागत बढ्दो क्रममा रहेका कारण कृषकलाई प्रोत्साहन गर्ने नीति स्थानीय तहले प्राथमिकतामा राख्न थालेका छन् ।
यसै सन्दर्भमा राप्ती गाउँपालिकाले गहुँ उत्पादन बढाउने लक्ष्यसहित उत्कृष्ट कृषकलाई पुरस्कार दिने कार्यक्रम ल्याएको हो । गाउपालिकाले बढी धान उत्पादन गर्ने कृषकलाई पनि सम्मान गर्दै आएको छ । यसैगरी उत्पादनका आधारमा दुधमा समेत प्रोत्साहन रकम पालिकाले दिँदै आएको छ । यसले पशुपालनमा कृषकको आकर्षण वृद्धि हुनुका साथै दुधमा आत्मनिर्भर पालिका बनाउन सकेको पालिकाले जनाएको छ । समूह वा डेरीमार्फत् कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन रकम दिँदै आएको छ । यसका लागि पालिकाले आन्तरिक बजेटबाट व्यवस्थापन गर्दै आएको छ । यसले कृषि पेसामा लाग्ने कृषकलाई प्रोत्सान मिल्ने अपेक्षा गरिएको छ ।
