काठमाडौँ, १ जेठ । सर्वोच्च अदालतले सरकारलाई पिसिआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बिहीबार कोरोना संक्रमण भए÷नभएको यकिन गर्ने पोलिमर चेन रियाक्सन (पिसिआर) परीक्षणको दायरा बढाउन सरकारका नाममा आदेश जारी गरेको हो । अधिवक्ताहरु कमलबहादुर खत्री र वीरेन्द्रकुमार खत्रीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले पिसिआर परीक्षणका सामग्री अभाव नहुन आवश्यक पहल गर्नु भनी आदेश पनि दिएको छ । आरडिटी परीक्षण प्रभावकारी नदेखिएको र किटहरु पनि स्तरीय नभएको भन्ने आलोचना भइरहँदा कोरोना संक्रमणको परीक्षण गर्ने बिशेष बिधिका रुपमा मानिएको पिसिआर परीक्षणको दायरा बढाउनपर्ने आम माग भइरहँदा सर्वोच्च अदालतमा त्यस्तो रिट दर्ता भएको थियो ।