Goraksha

National Daily

चटकै चटकका चुनावी दृश्य र पत्रकारिता

दिनेश दीपु सुवेदी

आसन्न निर्बाचनमा उम्मेदवार बनेका प्रभावशाली भनेर चित्रित केही नेतृत्वका चटकले आम नागरिकलाई अचम्भित बनाएको छ । युवा पुस्ताको भाषामा भाइरल बनेका केही श्रव्य–दृश्य सामग्रीले हेर्नेलाई नै लज्जित बनाएको आरोप छ, तर पनि हरदिन भाइरल नयाँ दृश्यले सामाजिक सञ्जाल छाएकै छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पूर्वी–रुकुमको एक गाउँमा किसानको आँगनीमा मकै चुट्दै गर्दा नेकपा एमालेका सूर्य थापाले प्युठानको एउटा गाउँमा मकै भुट्दै थिए भने पश्चिम रुकुममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले पखेरोको डिलमा बसेर मकै खाँदै गरेका दृश्य रोचक नभएर चटकका पराकाष्ठा थिए । जुन क्षेत्रमा गयो त्यहीँको स्थानीय भेषभूषामा सजिएर ‘म पनि यहाँको ठेट हुँ’ भन्नु अर्को चटक हो । तराईमा पूर्वपत्रकार ऋषि धमला वा देशैभर अन्य विभिन्न उम्मेदवारका चटक भनेर सत्तोसराप गर्ने साइबर–स्यालहरू आआफ्ना उम्मेदवारका नौटङ्कीमा रमाउँदै गर्दा अरूले गरेका कृत्यलाई कुकृत्यको सङ्ज्ञा दिँदै सामाजिक सञ्जालमा व्यस्त देखिन्छन् ।

यमपञ्चकको तेस्रो दिनको झल्को दिने गरी घाँटीमा लगाइएको मालाले चुनावी प्रतिस्पर्धा गरिरहेका आगामी जनप्रतिनिधिको खिल्ली उडाइरहेको छ । नीति, विधि बनाउन संसद् भवन जानु पर्नेले विकास बाँड्दै हिडेको अर्को चटक यत्रतत्र छरपष्ट देखिन्छ । हिजो भएका भौतिक निर्माण र चोरबाटो हुदै जिल्ला गएका बजेट आफ्नै घरखेत बन्धकी राखेर गाउँ ल्याए जस्तो गरी मतदाता रिझाउँदै गर्दा धेरै उम्मेदवारले अनेकन ललिपप बाँड्नसमेत सुरु गरेका छन् ।

आचारसंहितालाई कोटको खल्तीमा राखेर सपना बेचिरहेका उनीहरूलाई जिम्मेवारीको कुनै चिन्ता देखिँदैन । कोही बोलेको बोल्यै छन् भने कोही बोल्नै पर्नेसमेत नबोलेर आफ्नै सुर्तामा बेसुर हिँडिरहेका छन् । आफू अनुकूलका खुराक सञ्चारमाध्यममा नआएमा पत्रकार र पत्रकारिताको उछितो कार्न व्यस्त उम्मेदवारका आसेपासेका चर्तिकला ‘लाहुरेभन्दा गुन्टा उफ्रिर्ने’ उखानसँग मेल खाएको छ ।

त्यसो त सामाजिक सञ्जाल एकातिर आफ्नै पारामा छ भने पत्रकारिता पनि कतिपय ठाउँमा लज्जित बन्नु पर्ने अवस्थामा देखिन्छ । आचारसंहिता, दल र उम्मेदवारलाई मात्र लाग्दैन भन्ने भुलेका कतिपय सञ्चारमाध्यमका खुराक अपाच्य जस्तो देखिँदैछ । पत्रकारलाई हौसला र साथ दिनु पर्ने पत्रकार महासंघ र प्रेस काउन्सिलले पुरस्कार वितरण गर्दा संगठनको सदस्यता खोजे पनि यतिबेला राजनीतिलाई पर छोडेर निष्पक्षतामा जोड दिन चनाखो बन्नुपर्छ । राजनीतिक दलका संगठनमा आबद्धतालाई काखी च्यापेर जनपक्षीय पत्रकारिता हुँदैन ।

यतिबेला खबर र खबरकर्मी जोखिममा छौँ । अनुकूलताको विषय ओझेल प¥यो भने तीनपुस्ते खोजी सुरु गरेर अनेकन हर्कत गर्ने जमात बलियो भएको भ्रम देखिन्छ । पत्रकारिता मरे लोकतन्त्र कोमामा पुग्छ भन्ने सत्य नभुलेर हरपल जोखिममा रहने खबर र खबरकर्मीको ध्यान सम्बन्धति निकायले दिनु पर्ने हुन्छ । हिजो जेन–जी आन्दोलनका समयमा सामाजिक सञ्जालमा सम्पादनबिना प्रकाशन, प्रशारण गरिएका दृश्यले धेरै नागरिकमा मानसिक समस्या सुरु भएको चिकित्सकले बताएको तथ्य भुल्नु हुँदैन । न्युज र भ्युजका लागि जे पनि देखाइहाल्नु हुँदैन भन्ने ज्ञानको कमीले सञ्चार शब्द नै विवादित हुन थालेको हो ।

गुणगान र अनुकूल खबर खोज्ने बानीको विकास हामीले नै सिर्जना गरेका हौँ । भुइँमान्छेका आवाज उठाउने यो समयमा सम्भावित प्रभावशालीका पछि लागेर पत्रकारिताको धर्म कमजोर नबनोस् । घर घरमा बसेर सामाजिक सञ्जालको प्रयोग दुरुपयोग गर्दै पस्किने सवै खुराक खबर होइनन्, चेतना भया ।