Goraksha

National Daily

प्याब्सन छात्रा ब्याडमिन्टनको उपाधि ग्रेटअरनिकोलाई, वक्तृत्वकलामा गोरखाका आयुष प्रथम

दाङ,७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा सम्पन्न छात्रा ब्याडमिन्टनको उपाधि ग्रेटअरनिको इङलिस बोर्डिङ स्कुल तुलसीपुरले प्राप्त गरेको छ ।

कक्षा ११ र १२ का विद्यार्थीकाबिच भएको छात्रा ब्याडमिन्टन प्रतियोगिताको उपाधि ग्रेटअरनिको मावि तुलसीपुरले प्राप्त गरेको हो । त्यस्तै फस्ट रनर अप गोरखा मावि तुलसीपुर भएको छ भने सेकेन्ड रनर अप गुरूकुल एकेडेमी घोराही भएको छ ।

वक्तृत्वकलामा गोरखा घोराहीका आयुष प्रथम

कक्षा ११ र १२ का विद्यार्थीकाबिच आयोजित वक्तृत्वकला प्रतियोगितामा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीका आयुष देवकोटा प्रथम भएका छन् । त्यस्तै दाङभ्याली कलेज घोराहीकी छात्रा करूणा पौडेल द्वितीय भएकी छिन् भने माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुलकी सलिना पौडेल तृतीय भएकी छिन् ।

‘पर्यावरण सङ्कट : विकासको मूल्य कि विकासकै चुनौती’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा जिल्लाभरका ८ वटा विद्यालय सहभागी रहेका थिए । प्रतियोगितामा डा।सुदीप गौतम र निशान्त आचार्य निर्णायक रहेक थिए ।

भलिबलको फाइनल खेल शुक्रबार

यसैविच भलिवल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने छ । कक्षा ११ र १२ का छात्रहरूको फाइनल खेल शुक्रबार हुने बताइएको छ । जिल्लास्तरीय प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहेका छन् ।

प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्याब्सन दाङको तालिम तथा अनुगमन विभागका संयोजक चक्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।