Goraksha

National Daily

निषेध गरेर होइन, सबैलाई समेटेर देश बनाउँछौँ : सभापति थापा

कांग्रेसले मधेसको राजधानीबाट सार्वजनिक ग¥यो प्रतिज्ञापत्र
गोरक्ष समाचारदाता
दाङ, ७ फागुन । नेपाली कांग्रेसले जनकपुरमा एक सभाको आयोजना गरी आफ्नो ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा भएको सभामा सार्वजनिक गरिएको आफ्नो प्र्रतिज्ञापत्रमा कांग्रेसले आफ्नो ‘भिजन–१०’ सार्वजनिक गरेको हो ।

कांग्रेसले सार्वजनिक गरेको ‘भिजन–१०’ मा कांग्रेस भएर बाँच्ने नेपालदेखि समुन्नतिमा लम्किने नेपालसम्मको परिकल्पना गरिएको छ । सम्मानित नेपाली भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, ओखती र ओत दिने नेपाललगायतका बुँदामा कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गरेको छ ।

यसैगरी छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्कने नेपालको चर्चा गर्दै त्यस प्रकारको नेपाल निर्माणका लागि कांग्रेसले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिज्ञा पनि कांग्रेसले सार्वजनिक गरेको छ ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसलगायत समग्र देश बनाउने योजनाका साथ पार्टी अघि बढेको बताएका छन् । उनले प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने र सपना देख्दै साकार हुन सक्ने नेपाल बनाउने उल्लेख गरे । ‘हामीले कसैलाई निषेध गरेर होइन, सबै दलहरूलाई समेटेर देश बनाउने अभियान थाल्नेछौँ’, थापाले भने, ‘त्यसको नेतृत्व कांग्रेसले गर्नेछ ।’

उनले कोही एक्लैले देश बनाउन सम्भव छैन भन्ने कुरामा पार्टी स्पष्ट रहेको भन्दै भने, ‘तँ चोर, म ठिक भन्ने प्रवृत्ति कांग्रेसले बोक्दैन ।’ सभापति थापाले सबै नेपालीले गौरब गर्ने गरी विश्वले स्वाभिमानी देश भनेर चिन्ने नेपाल बनाउने बताए । मधेसको पहिचानमाथि गौरव गर्ने गरी स्थापित गरेरै छाड्ने उनको भनाइ छ । चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरिएको सो सभामा बोल्दै उनले भने, ‘पार्टीले अघि सारेको प्रतिज्ञा सबै युवाहरूको भावनाप्रति समर्पित गर्दै कार्यान्वयन गर्नेछौँ ।’

‘प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने बनाउने छौँ । प्रत्येक नेपालीले सपना देख्न पाउने र आफ्नो जीवनकालमा साकार हुन सक्ने बनाउने छौँ । नेपाललाई पेटभरि खुवाउने र आफ्नो उत्पादनलाई संसारभरि चिनाउन सक्ने किसानको नेपालमा बनाउने छौँ’, उनले भने, ‘नेपाललाई हामी छोराछोरीलाई पढाउँदै गर्दा ऋण काढ्नु नपर्ने बनाउने छौँ । यो नेपाललाई हामी ओखती गर्दै गर्दा डराउन नपर्ने नेपाल बनाउने छौँ ।’ हिजोको आफ्नो गौरवशाली दिनलाई सम्झँदै त्यो भन्दा पनि राम्रो दिन बनाउने उद्देश्यका साथ कांग्रेस लागेको उनको भनाइ छ । मधेसबाट मतभन्दा बढी मधेसी जनताको साथ, भरोसा र विश्वास चाहिएको उनको भनाइ छ । ‘यो साथले आधुनिकतामा लम्किने नेपाल बनाउने छौँ । यो नेपाललाई विश्वले स्वाभिमानी देश भनेर चिन्ने देश बनाउनेछौँ’, उनले भने ।

यसैगरी पार्टीका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सही ढङ्गले सुशासन दिन नसक्दा भएका घटनाक्रमको गहिराइसम्म पुग्न जरुरी रहेको बताए । अहिलेको अवस्थामा कसलाई जिताउनेभन्दा पनि विषम परिस्थितिमा देशलाई कसरी जोगाउने भन्ने मूलप्रश्न रहेको उनको भनाइ छ । जेन–जी विद्रोहपछि कांग्रेस मध्यमार्गी बाटोमा रहेको भन्दै शर्माले सबैखाले आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सुशासन स्थापित गर्ने साझा सङ्कल्प गर्न जरुरी रहेको बताए ।

यसैबिच नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर कार्यक्रम तय गरेको छ । बुधवार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रमाथि देशविदेशबाट प्रश्न गर्न सकिने र ती प्रश्नको जवाफ पार्टी सभापति गगनकुमार थापाले दिने गरी कार्यक्रम तय गरिएको जानकारी कांग्रेसका प्रवक्ता देवराज चालिसेले दिए ।