दाङ, २४ माघ । पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिपको उपाधी आयोजक अल्फा तेक्वान्दो डोजाङले जितेको छ । घोराहीमा माघको २३ र २४ गते भएको जिल्लास्तरीय च्याम्पियनसिपमा १८ स्वर्ण, १३ रजत र १० काश्य पदकसहित अल्फा तेक्वान्दो बिजेता बन्न सफल भएको हो ।
बिजेता बनेको अल्फा तेक्वान्दो डोजाङले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । अल्फा तेक्वान्दो डोजाङले यस बर्षसँगै पाँचवटै संस्करणको उपाधि जित्न सफल भएको छ । प्रतियोगितामा चार स्वर्ण, दुई रजत र दुई काश्य पदकसहित कालाखोला तेक्वान्दो डोजाङ उपबिजेता बन्न सफल भएको छ । उपबिजेता बन्न सफल कालाखोला तेक्वान्दो डोजाङले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपबिजेताको उरस्कार कोसेली बेकरीले सौजन्य गरेको थियो ।
जिल्लाका विभिन्न ३० बढी डोजाङ तथा बिद्यालयबाट खेलाडी सहभागी भएको प्रतियोगितामा फाइटतर्फ उत्कृष्ट पुरुष खेलाडी आयोजक अल्फा तेक्वान्दो डोजाङका जस्मिन चौधरी र महिलातर्फ बिएनबी तेक्वान्दो डोजाङकी खेलाडी कृपा वली बनेकी थिइन । त्यसैगरी पुम्सेतर्फ उत्कृष्ट पुरुष खेलाडी हाम्रो पहुँच तेक्वान्दो डोजाङका आशिष ददेल र महिला खेलाडीतर्फ नारायणपुर तेक्वान्दो डोजाङकी अस्मिता केसी बन्न सफल भइन । उत्कृष्ट बन्न सफल खेलाडीले नगदसहित ट्रफि र मेडल प्राप्त गरेका थिए ।
अल्फा तेक्वान्दो डोजाङका अध्यक्ष पदम केसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिजेता खेलाडीलाई पुरस्कार बितरण गरिएको थियोे । समापन कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने रेफ्रि, सहयोगीलगायतलाई सम्मान गरिएको थियो । प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थीत दरवार स्केट पार्कमा भएको थियो ।