राष्ट्रियसभा सदस्य घिमिरेले गरे निर्वाचन खर्च विवरण सार्वजनिक

दाङ,१९ माघ । नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित बासुदेव घिमिरे ‘जंगली’ले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

घिमिरेले माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनका क्रममा आफुले तीन लाख १९ हजार रुपैयाँ खर्च भएको जानकारी गराएका हुन् । राष्ट्रियसभा सदस्य घिमिरेले सार्वजनिक विवरणअनुसार सवारीसाधन प्रयोगमा ६५ हजार, सवारी इन्धनमा १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार, ढुवानीमा पाँच हजार, गोष्ठी तथा कार्यकर्ता परिचालनमा ९५ हजार, अन्य प्रचारप्रसार, छापा तथा विद्युतीय माध्यममा १४ हजार पाँच सय रुपैयाँ खर्च गरिएको छ ।

त्यसैगरी कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा २५ हजार र विविधमा २० हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन् । कानुनी व्यवस्था अनुसार निर्वाचन खर्च विवरण सार्वजनिक गरिएको घिमिरेले बताएका छन् ।