घोराही, १७ माघ । घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलले आफ्नो ३२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष हिमलाल राणाको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यता एवं प्याव्सनका निवर्तमान उपाध्यक्ष चक्रबहादुर रावतको विशिष्ट आतिथ्यतामा बार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको चरित्र निर्माण र सीप विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले सचेत नागरिक उत्पादनमा विद्यालयको भूमिका महत्वपूर्ण हुने बताउँदै विद्यार्थीलाई प्रविधिको सही प्रयोग गर्न आग्रह गरेका थिए । बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक पोषण न्यौपानेले शैक्षिक प्रगति तथा भावी योजना प्रस्तुत गरेका थिए । त्यसअवसरमा एसईई २०८० र २०८१ मा ’ए प्लस’ ल्याउने विद्यार्थीलाई सम्मान गरिनुका साथै खेलकुद सप्ताहका विजेता विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई पुरस्कृत गरिएको थियो। विद्यार्थीले तामाङ, मगर र राई जातिका मौलिक नृत्य, लघुनाटक र तेक्वान्दो प्रदर्शन गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
कार्यक्रममा प्याब्सन दाङका सचिव आदिम केसी, अभिभावकको तर्फबाट ताराप्रसाद आचार्य, विद्यार्थीको तर्फबाट उमेश अधिकारी र आइसा प्रविन शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कक्षा आठकी छात्रा अनुश्री गुप्ताले गीत प्रस्तुत गरेकी थिइन्। विद्यालयका शिक्षक वसन्त जीएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक यम रेग्मीले गरेका थिए ।