बेगम न्यौपाने
नेपालको वर्तमान राजनीति एक विचित्रको विरोधाभासपूर्ण मोडमा उभिएको छ । एकातिर सात दशक लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको आवश्यकता छ भने, अर्कातिर राजनीतिमा देखा परेको चरम निराशा, अस्थिरता र दिशाहीनताले व्यवस्थामाथि नै प्रश्नचिह्न खडा गरिरहेको छ ।
हरेक निर्वाचन र सरकार परिवर्तनसँगै देश नयाँ–नयाँ राजनीतिक प्रयोगको ‘प्रयोगशाला’ बन्दै गएको अनुभूति आम नागरिकले गरिरहेका छन् । कहिले उग्र वामपन्थी महत्त्वाकांक्षा त कहिले दक्षिणपन्थी पुनरुत्थानको धमिलो हावा, अनि कहिले कुनै ठोस दर्शन बिनाको केवल स्टन्टमा आधारित पपुलिजमको उदय– यी सबैले नेपालको लोकतन्त्रलाई आफ्नो स्वाभाविक लयमा हिँड्न दिइरहेका छैनन् । यस्तो संगीन घडीमा, जब मुलुकले स्थिरता, सुशासन र लोकतान्त्रिक मूल्यमान्यताको पुनस्र्थापना खोजिरहेको छ, स्वभाविक रूपमा सबैको नजर नेपाली कांग्रेसतिर सोझिन्छ ।
इतिहासको कालखण्डमा पटक–पटक प्रमाणित भइसकेको तथ्य के हो भने, नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेस नै हो । तर, आजको कांग्रेसले आफ्नो गौरवशाली इतिहासको ब्याज खाएर मात्र पुग्दैन, वर्तमानका चुनौतीहरूलाई सामना गर्न सक्ने नविन ऊर्जा र स्पष्ट दृष्टिकोण पनि प्रस्तुत गर्न सक्नुपर्छ । यो ऐतिहासिक आवश्यकता पूरा गर्नका लागि कांग्रेसको नेतृत्वमा रूपान्तरण र त्यो रूपान्तरणको संवाहकका रूपमा गगन थापाजस्ता पात्रको अपरिहार्यता टड्कारो रूपमा देखिएको छ ।
कांग्रेसः अनुभव र इतिहासको जग
राजनीतिशास्त्रीहरूका अनुसार, कुनै पनि मुलुकको लोकतन्त्र तब मात्र सुदृढ हुन्छ, जब त्यहाँ बलियो संस्थागत स्मृति (क्ष्लकतष्तगतष्यलब िःझयचथ) भएका र लोकतान्त्रिक संस्कारमा खारिएका ‘मास–बेस्ड’ पार्टीहरू राजनीति केन्द्रमा रहन्छन् । नेपालको सन्दर्भमा नेपाली कांग्रेस त्यस्तो एकमात्र दल हो, जसको जन्म नै लोकतन्त्रको स्थापनाका लागि भएको हो र जसको प्रत्येक रक्तसञ्चारमा प्रजातान्त्रिक मूल्यमान्यता प्रवाहित छ ।
वि.सं. २००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को दोस्रो जनआन्दोलन हुँदै संविधान सभाबाट संविधान जारी गर्नेसम्मका युगान्तकारी परिवर्तनहरूको नेतृत्व कांग्रेसले नै गरेको इतिहास साक्षी छ । बीपी कोइरालाको ‘प्रजातान्त्रिक समाजवाद’ को दूरदर्शी विचार र गणेशमान–किसुनजीको त्यागको जगमा उभिएको यो पार्टीसँग जस्तोसुकै राजनीतिक आँधीहुरीमा पनि देशलाई सम्हाल्न सक्ने अनुभव र क्षमता छ । वामपन्थी अतिवादलाई लोकतान्त्रिक धारमा ल्याउने होस् वा दरबारिया शक्तिसँग लडेर जनताको अधिकार स्थापित गर्ने सवालमा, कांग्रेसले सधैं मध्यममार्गी र समन्वयकारी भूमिका खेलेको छ ।
जब–जब देशमा संकट पर्छ, निकास दिने जिम्मेवारी कांग्रेसकै काँधमा आउँछ । यो केवल संयोग मात्र होइन, यो कांग्रेसको ऐतिहासिक चरित्र र अन्तर्राष्ट्रिय विश्वसनीयताको परिणाम पनि हो । त्यसैले, आज देशलाई फेरि पनि अस्थिरताको प्रयोगशाला हुनबाट बचाएर लोकतन्त्रको सही ट्रयाकमा ल्याउन कांग्रेसको सक्रिय र निर्णायक भूमिका अनिवार्य छ ।
वर्तमानको चुनौती र सुशासनको भोक
यद्यपि, इतिहास गौरवशाली हुँदैमा वर्तमान सुरक्षित हुँदैन । आज कांग्रेससामु आफ्नै विरासत जोगाउने र जनताको बदलिँदो आकांक्षालाई सम्बोधन गर्ने दोहोरो चुनौती छ । पछिल्लो समय कांग्रेसभित्र मौलाएको गुटबन्दी, सत्तामुखी प्रवृत्ति र यथास्थितिवादले जनमानसमा निराशा पैदा गरेको कुरालाई नकार्न सकिँदैन । जनता अब केवल राजनीतिक अधिकारको कुरामा मात्र सीमित छैनन्; उनीहरू दैनिक जीवनमा ‘सुशासन’ (न्ययम न्यखभचलबलअभ) को प्रत्यक्ष अनुभूति गर्न चाहन्छन् । भ्रष्टाचारको अन्त्य, चुस्त सेवा प्रवाह, र आर्थिक समृद्धि आजका मुख्य एजेन्डा हुन् ।
राजनीतिशास्त्रीहरूको विश्लेषणमा, अहिले विश्वभर नै स्थापित पुराना दलहरूप्रति वितृष्णा र नयाँ लोकप्रियतावादी (एयउगष्कित) शक्तिहरूको उदय भइरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । यदि कांग्रेसले आफूलाई समयसापेक्ष सुधार गर्दै सुशासनको प्रत्याभूति दिन सकेन भने, यो वितृष्णा अझ बढ्नेछ । कांग्रेसले बुझ्नुपर्छ कि लोकतन्त्रको रक्षा गर्नु भनेको केवल आवधिक निर्वाचन गराउनु मात्र होइन, लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउँदै नागरिकलाई राज्यप्रति भरोसा जगाउनु पनि हो ।
गगन थापाः रूपान्तरण र भविष्यको सेतु
यहीँनेर नेतृत्वको प्रश्न महत्त्वपूर्ण भएर आउँछ । कांग्रेसलाई यथास्थितिबाट माथि उठाएर आजको पुस्तासँग जोड्न सक्ने र सुशासनको एजेन्डालाई कार्यान्वयन गर्न सक्ने गतिशील नेतृत्वको खाँचो छ । यो परिप्रेक्ष्यमा, गगन थापा वर्तमान कांग्रेसभित्रका सर्वाधिक उपयुक्त र आशालाग्दा पात्रका रूपमा देखा पर्छन् । गगन थापा केवल एक व्यक्ति मात्र होइनन्, उनी कांग्रेसभित्रको रूपान्तरणका एक प्रतिनिधि पात्र हुन् ।
विद्यार्थी राजनीतिदेखि नै लोकतान्त्रिक गणतन्त्रको पक्षमा सडकमा उत्रिएर संघर्षको आगोमा खारिएका थापामा बीपी कोइरालाको वैचारिक स्पष्टता र आजको युवा पुस्ताको ऊर्जाको सन्तुलन पाइन्छ ।
उनको नेतृत्व क्षमताको परीक्षण विभिन्न कालखण्डमा भइसकेको छ । स्वास्थ्य मन्त्री हुँदा उनले छोटो समयमा गरेका नीतिगत सुधारहरू र जनताले अनुभूति गर्ने गरी दिएको सेवा प्रवाहले उनीसँग काम गर्ने इच्छाशक्ति र क्षमता (म्भष्खिभचथ अबउबदष्ष्तिथ) दुवै छ भन्ने प्रमाणित गर्छ । संसदमा जनसरोकारका विषयमा उनले गर्ने तथ्यपरक र गहन प्रस्तुतिले उनी केवल भाषण गर्ने नेता मात्र नभएर ‘पोलिसी मेकर’ पनि हुन् भन्ने देखाउँछ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, गगन थापाले कांग्रेसभित्र र बाहिर निरन्तर सुशासन र भ्रष्टाचार विरोधी अभियानको वकालत गर्दै आएका छन् । आफ्नै पार्टी सत्तामा हुँदा पनि गलत कुराको खबरदारी गर्ने नैतिक साहस उनमा देखिन्छ । राजनीतिलाई केवल सत्ता प्राप्तिमा सीमित नराखी यसलाई सेवा र समृद्धिको माध्यम बनाउनुपर्छ भन्ने उनको स्पष्ट दृष्टिकोण छ । आजको युवा पुस्ता, जो परम्परागत राजनीतिबाट विरक्तिएर विदेश पलायन भइरहेको छ वा विकल्पको खोजीमा भौंतारिरहेको छ, त्यो पुस्तालाई कांग्रेससँग पुनः जोड्न सक्ने चुम्बकीय आकर्षण गगन थापासँग छ ।
निष्कर्ष
नेपाल अब थप राजनीतिक प्रयोगहरू धान्न सक्ने अवस्थामा छैन । अस्थिरताको चक्रव्यूहबाट देशलाई बाहिर निकालेर लोकतान्त्रिक मूल्यमान्यताको जगमा सुशासनको महल खडा गर्नु नै आजको मुख्य कार्यभार हो । यो कार्यभार पूरा गर्नका लागि अनुभव, इतिहास र प्रतिबद्धताको कसीबाट हेर्दा नेपाली कांग्रेसको विकल्प छैन । तर, त्यो कांग्रेस परम्परागत शैलीको नभएर नवीन र रूपान्तरित हुन जरुरी छ ।
राजनीतिशास्त्रीहरूले औंल्याएझैं, लोकतन्त्रलाई बलियो बनाउन बलियो लोकतान्त्रिक दल चाहिन्छ, र दललाई बलियो बनाउन समयसापेक्ष नेतृत्व चाहिन्छ ।
कांग्रेसको गौरवशाली इतिहास र भविष्यको आवश्यकताबीचको सेतु बन्न सक्ने क्षमता गगन थापामा निहित छ । उनको नेतृत्व (चाहे त्यो तत्काल सभापतिको रूपमा होस् वा भावी नेतृत्वको स्पष्ट उत्तराधिकारीका रूपमा) ले मात्रै कांग्रेसलाई पुनर्जीवन दिन सक्छ र कांग्रेसको पुनर्जीवनले मात्रै देशलाई प्रयोगशाला बन्नबाट रोकी लोकतन्त्रको सही लयमा हिँडाउन सक्छ । यो समयको माग हो र राजनीतिको अनिवार्य आवश्यकता पनि । यही कारणले अब देश कुनै पनि किसिमको प्रयोगशाला बन्नबाट जोगिनुपर्छ र त्यसका लागि विवेकपूर्ण मतदान गर्न सबै गम्भिर हुनुपर्दछ । सबैको चासो अनि सरोकार, गगन नेतृत्वमा कांग्रेस सरकार ।