प्रतिनिधि सभा निर्वाचन : लुम्बिनीमा ५९९ उम्मेदवार, स्वतन्त्र मात्रै २०५

गोरक्ष समाचारदाता
दाङ, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पाँच सय ९९ जनाले उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले बिहिबार उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको हो । यो सँगै प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्रबाट गरी पाँच सय ९९ जना उम्मेदवारको अन्तिम नामावली टुङ्गो लागेको छ । निर्वाचन कार्यालयका तथ्याङ्कको अनुसार राजनीतिक दलबाट तीन सय ९४ जना उम्मेदवार बनेका छन् भने स्वतन्त्र दुई सय पाँच जना रहेका छन् ।

कूल उम्मेदवारमध्ये पाँच सय ४३ जना पुरुष र ५६ जना महिला रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिएका छन् । यसले महिला प्रतिनिधित्वको कम देखिएको छ । राजनीतिक दलबाट सबैभन्दा बढी उम्मेदवारी परेको छ । तीन सय ९४ जना उम्मेदवारले राजनीतिक दलबाट टिकट पाएका छन् । प्रदेशमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या उल्लेख्यनीय देखिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा दुई सय पाँच जना स्वतन्त्र उम्मेदवारले भाग लिन लागेका छन् । यसले अघिल्ला भन्दा यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेको देखिएको छ । स्वतन्त्र उम्मेदवारको यो सङ्ख्याले राजनीतिक दलप्रतिको मतदाताको असन्तुष्टि र नयाँ नेतृत्वको खोजी गरेको देखिन्छ तर महिला उम्मेदवारको सङ्ख्या भने निराशाजनक देखिएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा फैलिएका २६ निर्वाचन क्षेत्रमा उम्मेदवार वितरण भने फरक फरक रहेको देखिन्छ । जिल्लागत रूपमा हेर्दा रुपन्देहीमा सबैभन्दा बढी ५ निर्वाचन क्षेत्र छन् । यसैगरी दाङ, कपिलवस्तु र बाँकेमा ३÷३, बर्दिया, गुल्मी, पाल्पा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा २÷२ निर्वाचन क्षेत्र छन् भने रोल्पा, प्युठान, रुकुम पूर्व र अर्घाखाँचीमा १÷१ निर्वाचन क्षेत्र छन् ।

जस अनुसार रुपन्देहीमा एक सय ५७ जना, दाङमा ६२ जना, कपिलवस्तुमा ९८ जना, बाँकेमा ६० जना, बर्दियामा ४० जना, गुल्मीमा ४३ जना, पाल्पामा ३० जना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ५६ जना, रोल्पामा १२ जना, प्युठानमा १४ जना, रुकुम पूर्वमा १२ जना र अर्घाखाँचीमा १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी हुने भएका छन् ।

आगामी निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ३३ लाख छ हजार ६० जना मतदाता रहेका छन् । जसमा १७ लाख १५ हजार एक सय ६३ जना पुरुष, १६ लाख ७१ हजार चार सय ७९ जना महिला र ३८ जना अन्य मतदाता सङ्ख्या छ ।

हातहतियार बुझाउन प्रशासनको आग्रह
यसैबिच आगामी प्र्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङले बिहिबार सार्वजनिक सूचना जारी गर्दै माघ २० गतेभित्र व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा हस्ताक्षरित सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ । प्रशासनले निर्वाचनलाई भयरहित बनाउन सबै नागरिक, इजाजतधारि तथा सरोकारवाला पक्षलाई सूचनाको पूर्णपालना गर्न आग्रह गरेको छ ।

दुई जनाको उम्मेदवारी रद्द
त्यसैगरी निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा दुई जना उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । जसमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरी र नेपाली कांग्रेसका नेता देवेन्द्रराज कडेल रहेका छन् ।

चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए भने कडेल नवलपरासी पश्चिमको क्षेत्र नं. २ मा उम्मेदवर बनेका थिए । नवलपरासी पश्चिम क्षेत्र नं. २ मा नेपाली कांग्रेस सभापति गगनकुमार थापाको हस्ताक्षरमा कडेलसँगै भीमबहादुर थापा भरतको उम्मेदवारी परेको थियो । निर्वाचन आयोगले कडेलको उम्मेदवारी खारेज गर्दै थापालाई आधिकारिक उम्मेदवार बनाएको छ ।