गोरक्ष समाचारदाता
दाङ, ४ माघ । नेपाल प्रज्ञा प्रतिष्ठान नेपालले दाङका वादी समुदाय र उनीहरूको आर्थिक, सामाजिक पक्षबारे चासो देखाएको छ ।
राप्ती साहित्य परिषद् दाङको सहआयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानले घोराहीमा आयोजित दाङमा वादी समुदायको सामाजिक सांस्कृतिक अवस्था र रूपान्तरणका चुनौती विषयक प्राज्ञिक गोष्ठीमा वादी समुदायले भोग्नु परेको समस्या र अबको निकासबारे छलफल गरिएको थियो ।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठान सामाजिक शास्त्र विभाग प्रमुख प्राध्यापक डाक्टर शीला रिषलको प्रमुख आतिथ्यता र राप्ती साहित्य परिषद्का पूर्व केन्द्रयी अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कार्यप्रत्र प्रस्तुत गर्दै अध्ययनकर्ता जनक विकले वादी समुदायले यौन व्यवसाय अपनाएको नभएर यौन उत्पीडनमा पारिएको उल्लेख गरेका थिए जसका कारण वादी समुदायको सामाजिक, आर्थिक र शैक्षिक उन्नति हुन नसकेको उल्लेख गरे ।
कार्यपत्रमाथि टिप्पणी गर्दै वादी समुदायका अगुवा निर्मल वादीले वादी समुदायको उत्थानका लागि उनीहरूको समाजमा पुनःस्थापना र उनीहरूको प्रवर्धनमा स्थानीयदेखि केन्द्र सरकार र सरोकारवाला पक्षले ध्यान दिनुपर्ने बताए ।