लक्ष्मण बस्नेत
दाङ, १२ पुस । सर्वाधिक पुरस्कार राशीको दोस्रो अन्तरवडास्तरीय रनिङ पुरुष फुटबल प्रतियोगिता–२०८२ को उपाधि वडा नं. १८ ले हात पारेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. १८ ले वडा नं. १२ लाई सडन डेथ (टाइब्रेकर) मा ७–६ गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै वडा नं. १८ ले नगद २ लाख ६६ हजार ६६ रुपैयाँ, चाँदीको कप, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनलमा कडा प्रतिस्पर्धा गर्दै सम्मानजनक हार बेहोरेको वडा नं. १२ उपविजेतामा सीमित रहँदै नगद १ लाख ६६ हजार ६६ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । उल्लेख्य दर्शकले खचाखच भरिएको तुलसीपुर अरनिको खेल मैदानमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको २६औँ मिनेटमा वडा नं. १२ का जर्सी नं. ९ का खेलाडी सुगम चौधरीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । त्यसपछि ३७औँ मिनेटमा वडा नं. १८ का जर्सी नं. १५ का रबिन चौधरीले जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । निर्धारित समयमा नतिजा नआएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको हो ।
पुस ४ गतेदेखि सुरु भएको प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका १६ वडाहरूको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह आयोजक वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारीको अध्यक्षता, पूर्व राष्ट्रिय फुटबल खेलाडी सुधिर गुरुङको प्रमुख आतिथ्य तथा वडा नं. १८ का अध्यक्ष माधव वलीको विशिष्ट आतिथ्यमा भएको थियो ।
त्यसअवसरमा विजेता टिम वडा नं. १८, उपविजेता टिम वडा नं. १२ तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । वेष्ट प्लेयरको उपाधि वडा नं. १२ का करण बस्नेतले प्राप्त गर्दै नगद ८ हजार रुपैयाँ र ट्रफी हात पारे ।
त्यसैगरी हाई स्कोरर वडा नं. १२ का सुवास बुढामगर, वेष्ट किपर वडा नं. १८ का नवीन परियार, वेष्ट डिफेन्स वडा नं. १८ का विप्लव डाँगी तथा वेष्ट मिडफिल्डर वडा नं. १८ का निशान खड्काले जनही नगद ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । कार्यक्रमको सञ्चालन नानीमैयाँ वलीले गरेकी थिइन