राजु लामिछाने
रुकुम पश्चिम, २४ मङ्सिर । आठ वर्ष अघि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा किचकिचे चिन्तु खानेपानी लिफ्ट सिँचाइ खानेपानी सुरु गर्दा यहाँका एक सय १० घरधुरीलाई खानेपानीको सुविधा घरमै उपलब्ध हुने आशा पलाएको थियो । स्थानीय गोपाल खड्काले खानेपानीको समस्या समाधान हुनेमा आशावादी थिए ।
‘अब चिन्तु, डाँगीचौर, जुम्लेपोखरी, हल्टाकुरी र बुगेरी टोलमा एक घर एक धारा हुन्छ भन्ने लागेको थियो तर अहिलेसम्म योजना अधुरै छ’, उनले भने । अहिले अन्य स्थानमा खानेपानीको सुविधा पुग्दा आफ्नो गाउँमा त्यो सुविधा कहिले होला भन्ने कुरा उनको मनमा खेलिरहन्छ । उपभोक्ता समितिका अध्यक्ष धनवीर वलीका अनुसार आयोजनाको ८० प्रतिशत काम सकिएको छ तर करिब ३० लाख रुपैयाँको थप बजेट व्यवस्थापन नहुँदा घरघरमा खानेपानी पुग्ने सपना पूरा हुन सकेको छैन ।
सानीभेरीकै ३ नम्बर वडामा आठ वर्ष पहिला निर्माण सुरु भएको तुसारे अध्याचौर लिफ्ट खानेपानी आयोजना अझैसम्म पुरा हुन सकेको छैन । यही योजनामा सङ्घीय, प्रदेश र स्थानीय सरकाले तीन करोड रुपैयाँ लगानी गरिसकेका छन् तर उपलब्धि भएको छैन । वडाध्यक्ष जगदीश नकालले करिब चार सय घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको यो योजना बजेट अभावकै कारण पुरा हुन नसकेको बताए ।
‘पछिल्लो समय तीनै तहको सरकारको प्राथमिकतामा यो योजना छैन, बजेट आउन छोडेको छ । यो योजनामा सानीभेरी गाउँपालिकाले २० लाख रकम खर्च गरेको छ भने प्रदेश र संघको क्रमाङ्गतबाट बाँकी रकम खर्च भएको हो’, उनले भने ।
४ नम्बर वडामा तीन वर्ष अघि सुरु भएको पधेरीखोला गाउँबारी लिफ्ट खानेपानी आयोजना पनि अधुरै छ । वडाध्यक्ष मनोज बुढाथोकीका अनुसार कर्णाली प्रदेश सरकारबाट तीन पटक गरेर यो योजनामा ३८ लाख रुपैयाँ खर्च भइसकेको छ ।
योजना छनोट तथा बजेट विनियोजन गर्दा वडा कार्यालयलाई जानकारी नै नभएको, हचुवाका भरमा बजेट योजना र बजेट हालेर निर्माण पुरा हुन नसकेको उनको भनाइ छ । अन्तिम समयमा मोटर र धारा जडानमा बजेट अपुग भएपछि यो योजना पनि रोकिएको हो ।
बजेट अभावमा योजना अधुरै
किचकिचे, तुसारे र पधेरीखोला जस्तै यस गाउँपालिका–४ मा रहेको गोल्चौर लिफ्ट सिँचाइ आयोजना र वडा नम्बर ५ मा रहेको मेलचौर लिफ्ट खानेपानी आयोजना पनि अधुरै छन् । गोल्चौरमा प्रदेश सरकारको ८० लाख रुपैयाँ र मेचचौरमा ४० लाख रुपैयाँ लगानी भइसकेको छ ।
बजेट अपुरो भएको भन्दै योजना भने अधुरै छोडिएका छन् । एकातिर करोडौँ रकम लगानी भएका योजनाले परिणाम दिन सकेका छैनन् भने अर्कोतर्फ सर्वसाधारणलाई खानेपानी जस्तो आधारभूत आवश्यकता सहजै उपभोग गर्नबाट वञ्चित हुनु परेको छ ।
सानीभेरी गाउँपालिकाका खानेपानी तथा सरसफाइ टेक्निसियन पवनकुमार केसीका अनुसार सानीभेरी गाउँपालिकाका विभिन्न वडामा रहेका यी पाँच वटा सबैभन्दा पुराना तर अपुरा अयोजनामा पाँच करोड रुपैयाँ खर्च भइसकेको छ । तीन तहका सरकारको करोडौँ रकम खर्च हुँदा पनि सर्वसाधारणले सहज खानेपानीको सुविधा पाउन सकेका छैनन् । तीनै तहका सरकारबिच योजना र बजेट विनियोजनमा तालमेल नमिल्दा यो समस्या देखिएको हो ।
सरकारबिच समन्वयको अभाव
सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले योजना प्राथमिकीकरण नगरेर हचुवाको भरमा बजेट विनियोजन गर्दा यस्तो समस्या आएको बताइन् । उनका अनुसार यस्ता योजना लथालिङ्ग अवस्थामा पुग्दा भएको खर्चको प्रभावकारिता कमजोर देखिएको छ ।
तीनै तहका सरकारबिच समन्वय नहुँदा योजना अलपत्र रहेको, गाउँमा विवाद बढेको र लगानी खेर जाने अवस्थामा रहेको उपाध्यक्ष पुनले बताइन् । कुनै वर्ष संघले, कुनै वर्ष प्रदेशले र कुनै वर्ष स्थानीय सरकारले यी योजनामा बजेट थप गर्ने गरे तापनि अपुरै हुने गरेको छ । पर्याप्त बजेट नहुँदा हरेक वर्ष थोरै मात्र कामको प्रगति हुने गरेको छ ।
तीनै तहका सरकारले एकीकृत योजना बनाएर योजनाको लागि पूर्ण बजेट व्यवस्थापन गर्न आवश्यक रहेको उपाध्यक्ष पुनको भनाइ छ । उनले भनिन्, ‘करोडौँ खर्च लाग्ने योजनामा १५ लाख, २० लाख मात्र हरेक वर्षमा छुट्याउँदा एक दशक नै लाग्ने भयो । यो भन्दा योजनाको प्राथमिकीकरण गरेर लगानी पुरा गर्नुपर्छ ।’
गाउँमा खानेपानीको पिरलो
११ वटा वडा रहेको सानीभेरी गाउँपालिकाका अधिकांश बस्ती अग्लो लेक तथा टाकुरामा छन् । ती बस्तीमा खानेपानीको सुविधा पु¥याउन लिफ्ट योजना निर्माण सुरु गरिए तापनि वर्षौँसम्म सम्पन्न भएका छैनन् । सानीभेरी गाउँपालिका १० का नरबहादुर खड्काले दुई घण्टा टाढाबाट बोकेर खानेपानीको जोहो गर्न बाध्य भएको बताउँछन् ।
मानिस तथा गाईवस्तुले उपयोग गर्ने पानी बोक्दा समयको खर्च हुनुका साथै श्रमको समेत बढी प्रयोग हुने गरेको छ । बिहानै गाग्री बोकेर पानी ल्याउन खोला झर्नुपर्ने बाध्यताले यहाँका सर्वसाधारणलाई दुःख दिइरहेको छ । खानेपानी जस्तो अत्यावश्यक आधारभूत आवश्यकता पुरा गर्न यहाँका सर्वसाधारणलाई पिरलो हुने गरेको छ ।