घोराही, १७ मङ्सिर । अपाङ्गता भएका व्यक्तिप्रति समाजको दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वास्थ्य कार्यालय दाङले बुधवार घोराही उपमहानगरपालिका–१४ झिगौंरास्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा आयोजना गरेको कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरूले समाजमा अहिलेपनि अपांङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको बताएका हुन् ।
कार्यक्रममा शारीरिक अपाङ्ग भएका सुरेन्द्र चौधरीले सार्वजनिक यातायातमा भेदभाव भइरहेको गुनासो गरे । शारिरीक अपाङ्ंगता भएका व्यक्तिहरुलाई सरकारसँगै अन्य नागरिकको साथ र सहयोग आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो,‘कानुनी रूपमा अपाङ्गता भएका व्यक्तिलाई यातायातमा छुटको व्यवस्था गरिएपनि ह्वीलचेयर देखेपछि गाडी नरोक्ने र रोकेपनि अर्को गाडीमा आउनुहोला, यसमा ठाउँ छैन भनेर टार्ने गरिन्छ ।’
सुरेन्द्र चौधरी जस्तै गुनासो थियो, शारिरीक अपाङ्ग गोविन्द धितालको पनि । नीतिगत रुपमा भएका कानुन व्यवहारिक रुपमा कार्यान्वयन नुहँदा अपाङ्गता भएका व्यक्तिहरुले राज्यले दिएका सुविधा समेत पाउन नसकेको गुनासो गर्नुभएको थियो । अपाङ्गता भएका व्यक्तिहरु फरक क्षमता भएका व्यक्तिहरु भएको र उनीहरुको क्षमता अनुसारको सिप र व्यवसाय गर्ने वातावरण सरकारले बनाउनुपर्ने भएपनि चासो नदिएको अर्का अपाङ्ग सुरेश विकले बताउनुभयो । अवसर प्राप्त गरे अन्य नागरिक सरह काम गर्न सक्ने भएपनि राज्यले अपाङ्गता भएका व्यक्तिको क्षमता पहिचान गर्न नसकेको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले अपाङ्गता भएका व्यक्तिप्रति समाजको दृष्टिकोण क्रमश सकारात्मक बन्दै गएको बताउनुभएको थियो । फरक क्षमता भएका व्यक्तिलाई सीपअनुसार रोजगारी र अवसर प्रदान गर्न राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यक रहेपनि दिन नसकेको स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङले बताउनुभएको थियो ।
कार्यक्रममा पत्रकारिताका माध्यमबाट अपाङ्गता क्षेत्रमा कलम चलाएर सहयोग गरेकोमा पत्रकार अमरक्षितिज भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचेयरसहित खाद्यान्न र फलफूल वितरण गरिएको थियो ।