क्याम्पसमा स्यानीटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन

गोरक्ष समाचारदाता
दाङ, ८ मङ्सिर । गरिमा बिकास बैंक घोराही शाखाले क्षेत्रीय कार्यालय कोहलपुरसँगको समन्वयमा महेन्द्र बहुमुखी क्याम्पस दाङलाई स्यानिटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ ।

आइतवार गरिमा विकास बैंक घोराही शाखाका प्रबन्धक बलदेव धिताल, अपरेसन इन्चार्ज ईश्वरीप्रकाश वली, कर्जा प्रमुख आरती बस्नेत तथा कर्मचारी दीपेश चौधरीले क्याम्पस प्रमुख डा नारायण पन्थी, सहायक क्याम्पस प्रमुख राजेन्द्रकुमार रेग्मी, बिबिए निर्देशक सुदर्शन रिजाल तथा स्ववियु सभापति दीपेश डिसीलगायतका पदाधिकारीको उपस्थितिमा मेसिन हस्तान्तरण गरिएको हो ।

बैंक प्रबन्धक बलदेव धितालले बैकको १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका छात्राका मानवीय सेवामा सहयोग पु¥याउने उद्देश्यले स्यानिटरी प्याड भेन्डिङ मेसिन तथा डिस्पोजन मेसिन हस्तान्तरण गरिएको जानकारी दिए । मेसिन हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख डा. नारायण पन्थी तथा स्वविय सभापति दीपेश डिसीले क्याम्पसको आवश्यकता पुरा गर्न सहयोग गरेकोमा बैंक परिवारलाई धन्यवाद ज्ञापन दिएका थिए ।

बैकले क्याम्पसमा यस अघि पनि वित्तीय साक्षरताका विविध कार्यक्रममा सहयोग गरिरहेको छ । गरिमा बैंकले हाल देशभर एक सय २६ शाखा र ५१ एटिएम काउन्टरमार्फत् बैङ्किङ सेवा प्रदान गरिरहेको छ ।