बालाराम खड्का
तुलसीपुर, ५ मङ्सिर । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालमा सुविधा सम्पन्न शल्यक्रिया भवन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका अन्तर्गत भारतीय राजदूतावासको लागत साझेदारीमा करिब साढे चार करोड रुपैयाँको लागतमा भवन निर्माण भइरहेको हो ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको सुविधा सम्पन्न शल्यक्रिया भवनको उपमहानगरपालिका, आँखा अस्पताल र ठेकेदार कम्पनीबिच त्रिपक्षीय सम्झौतापत्र गत माघमा भएसँगै हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । राप्ती आँखा अस्पतालमा सुविधा सम्पन्न शल्यक्रिया भवन निर्माणको काम समयमै सम्पन्न गर्न आफूहरू लागिपरेको नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिएका छन ।
निरन्तर प्रयासपछि गौरवको आयोजना भारतीय राजदूतावासबाट स्वीकृत भई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालमा सम्झौता भएपछि तुलसीपुर उपमहानगरपालिकाले टेन्डर आह्वान गरेर भवनको निर्माण कार्य सुरु भएको थियो । भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा चार करोड २४ लाख ३८ हजार रुपैयाँमा शल्यक्रिया भवन निर्माण हुन लागेको छ ।
भिक्टोरिया जेभी काठमाडौंले २०८३ वैशाखमा भवन निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको छ । हाल भवनको ढलानसँगै अन्य निर्माणको काम भएको र समयमै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको इन्जिनियर विशाल केसीले जानकारी दिए ।
राप्ती आँखा अस्पतालको लुम्बिनीका साथै कर्णाली प्रदेशका सेवाग्राहीलाई सर्वसुलभ आँखा स्वास्थ्य सेवा दिएको र अत्याधुनिक शल्यक्रिया भवन निर्माण भएपछि शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहज हुने आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले बताए । २०८१ फागुन २० गते नेपाल भारत विकास सहयोग अन्तर्गत राप्ती आँखा अस्पताल शल्यक्रिया भवनको शिलान्यास भारतीय राजदुतावास, काठमाडौंका प्रथम सचिव बशिष्ठ नन्दन र तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा गरेका थिए ।
काउन्सिलरद्वारा भवनको निरीक्षण
यसैबिच भारतीय राजदूतावासको प्रतिनिधि टोलीले भवनको अनुगमन तथा निरीक्षण गरेको छ । भारतीय राजदूतावास, काठमाडौंका काउन्सिलर गीताञ्जली ब्रैंडनले निर्माणाधीन भवनको अवलोकन तथा निरीक्षण गरेकी छन् । भवनको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै काउन्सिलर ब्रैंडनले राप्ती आँखा अस्पतालले दृष्टिबिहिनता न्यूनीकरणका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको आफूलाई जानकारी प्राप्त भएको बताइन् ।
तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले भारतीय राजदूतावासको सहयोगमा राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन निर्माण हुन लागेको भन्दै अन्य सहयोगका लागि साझेदारी गर्ने भन्दै धन्यवाद दिइन् । उनले स्थानीय सरकारले जहिले पनि सहकार्य र साझेदारी गर्ने बताइन् । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले भारत सरकारले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान अतुलनीय भएको बताए । उनले यो भौतिक संरचनाको निर्माण कार्य मात्र नभई लाखौँ नागरिकको दृष्टि जोगाउने महत्वपूर्ण अभियानको कोसेढुङ्गा भएको बताए ।
‘यो महत्वपूर्ण परियोजनाका लागि आवश्यक बजेट सहयोग प्रदान गर्नुहुने भारतीय सरकार तथा भारतीय राजदूताबासप्रति हामी हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौँ’, गिरीले भने । कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले भारतीय राजदूतावासले आँखा स्वास्थ्य सेवाको विकासका लागि विभिन्न सहयोग गरेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
डा. थापाले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गतका राप्ती आँखा अस्पताल, लमही र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल र उपचार केन्द्रहरूले हालसम्म दिएका सेवा, भावि कार्यक्रम, राप्ती आँखा अस्पतालको भावि गुरुयोजना, दृष्टि विहिनता न्यूनीकरणमा हाल भए गरेका प्रयास र सफताको विषयमा जानकारी गराएका थिए । तुलसीपुर उपमहानगरपालिका इन्जिनियर हिमाल शर्माले शल्यक्रिया भवनको कार्यप्रगति र हालसम्म भएको भौतिक विकासबारे जानकारी गराएका थिए ।a