लीलाधर वली
दाङ, २९ कात्तिक । शिक्षण पेसासँगै माहुरीपालनमा लागेका घोराही उपमहानगरपालिका–१८ गिठेपानी निवासी कृष्णबहादुर डाँगी र जानकी डाँगी दम्पत्तिले मह बिक्री गरेर मासिक एक लाख बढी आम्दानी गर्दै आएका छन् । विगत डेढ दशकदेखि माहुरीपालनमा संलग्न डाँगीले घोराही–१८ गिठेपानीमै एक सय पाँच घार बढी माहुरी पालेर वार्षिक रूपमा १२ देखि १३ लाखसम्म आम्दानी गर्दै आएका छन् ।
शिक्षण पेसापछि खाली समयको सदुपयोग गर्ने उद्देश्यले २०६७ सालमा तीन घार सेरेना जातका माहुरी किनेर माहुरीपालन व्यवसायमा जोडिएका थिए । रहरले जोडिएको माहुरीपालन व्यवसाय अहिले डाँगी दम्पत्तिको माहुरीपालन मुख्य आम्दानीको स्रोत बनेको छ ।
घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा बिहान जनसङ्ख्या विषय पढाउँँदै आएका कृष्ण भन्छन्, ‘बिहान क्यापसमा पढाएपछि दिनभर समय खाली हुने र त्यही समय सदुपयोग गर्ने गरी सुरुमा रहरले तीन घार माहुरी किनेको थिएँ । राम्रो लाग्यो, बिस्तारै बढाउँदै गएँ । अहिले शिक्षणभन्दा माहुरीपालन नै मुख्य पेसा भइसकेको छ ।’
महसँगै माहुरीका घारसमेत बिक्री गर्दै आएका कृष्णले वार्षिक १५ देखि १६ लाख रुपैयाँसम्मको कारोबार हुने र सबै खर्च कटाउँदा १२ देखि १३ लाखसम्म बचत गर्दै आएको बताउँछन् । गत वर्ष १६ लाख रुपैयाँको मह बिक्री गरेका उनले यो वर्ष घार वृद्धि भएको र तोरी, चिउरी समयमै पूmलेकाले मह उत्पादन बढ्ने बताउँछन् ।
एउटा माहुरीको घारबाट वार्षिक २०–२५ किलो मह उत्पादन हुने र त्यस हिसाबले वार्षिक रूपमा करिब ३५÷३६ क्विन्टल मह उत्पादन भए न्यूनतम पाँच सय रुपैयाँ किलोका दरले मह बिक्री गर्दा करिब १८ लाख रुपैयाँसम्मको कारोबार हुने उनको भनाइ छ । माहुरीपालन व्यवसायमा कृष्णलाई श्रीमती जानकीले सहयोग गर्दै आएकी छिन् ।
माहुरीको घार रेखदेखसँगै बाहिर चराउन लैजाँदा समस्या हुन थालेपछि कमलाले लामो समय शिक्षण गरेको पेसा छोडेर श्रीमानलाई माहुरीपालनमा सहयोग गर्दै आएको बताउँछिन् । उनले भनिन्, ‘सुरुमा परिवार दाङमा म रोल्पा बस्दा अप्ठेरो भए पनि जागिर छोड्न सकेको थिएनँ तर माहुरीपालनबाट राम्रो आम्दानी हुँदै गएपछि यता पनि हेर्नुपर्ने अवस्था आएको हो, मान्छे राख्नुभन्दा आपूmले जागिर छोडेर श्रीमान्सँगै माहुरीपालनमा लागेँ ।’

उत्पादन भएको मह घरबाटै बिक्री हुने गरेको उनको भनाइ छ । मह बिक्रीका लागि टाढा जानुपर्ने अवस्था नरहेको भन्दै जानकीले भनिन्, ‘मह किन्नका लागि अधिकांश आफैँ घरमा आएर लैजानुहुन्छ । कतिपयले पैसा पठाएर पठाइदिन भन्नुहुन्छ, त्यस्तो अवस्थामा हामीले पनि पठाउने गरेका छौँ ।’
प्राकृतिक एपिकल्चर सेन्टर फार्म दर्ता गरेर मेलिफेरा र सेरेना जातका माहुरी पालन गर्दै आएका डाँगी दम्पत्तिले सिजन अनुसार पाँच सयदेखि सात सय रुपैयाँसम्म किलोका दरले मह बिक्री गर्दै आएको बताउँछन् । अन्य समयको तुलनामा कात्तिके मह बढी बिक्री हुने गर्छ । माहुरीपालन व्यवसायबाट राम्रो हुँदै गएपछि गत वर्ष प्रधानमन्त्री आधुनिकीरण परियोजना माहुरीजोनको सहयोगमा करिब १५ लाख रुपैयाँ लगानी मह प्रशोधन उद्योगसमेत स्थापना गरेका छन् ।
मह प्रशोधन उद्योग नहुँदा मह उत्पादन भए पनि बिक्रीका लागि समस्या हुने भएकाले मह प्रशोधन उद्योग स्थापना गरेको श्रीमती जानकीले बताइन् । मह प्रशोधन उद्योग स्थापनासँगै महलाई लेबलिङ गरेर बजारमा बिक्री गर्न सहज हुनुका साथै महको गुणस्तरमासमेत राम्रो हुने विश्वास छ । मह उत्पादनको राम्रो सम्भावना भएको दाङमा पछिल्लो समयमा माहुरी पाल्ने किसानको सङ्ख्या बढिरहेको छ ।