गोरक्ष समाचारदाता
दाङ, २४ कात्तिक । दाङमा प्रहरीले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ ।
घोराहीमा रहेको जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका–१५स्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी २४ वर्षीय सुनिल थापा मगर, सोही ठाउँ निवासी २४ वर्षील कुनाल श्रेष्ठ, २४ वर्षीय इनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र अर्का १८ वर्षीय विवेक पुन मगर रहेका छन् ।
यसैगरी सल्यान छत्रेश्वरी गाउँपालिका–४ निवासी २६ वर्षीय अमरबहादुर वली, घोराही–१३ निवासी २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुर निवासी शरद बस्नेत र घोराही–१३ निवासी २५ वर्षीय सन्दीप घर्ती रहेका छन् । सिसी क्यामेरामा कैद भएको दृश्य, सञ्चार माध्यमसँगै जेन–जी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा पक्राउ गरिएको बताए ।
पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको भन्दै प्रहरी नायव उपरीक्षक शाहले भने, ‘आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने र लुटपाटमा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ, थपको खोजी कार्य भइरहेको छ ।’ उनका अनुसार उनीहरूलाई कात्तिक २१ र २२ गते घोराही क्षेत्रबाट पक्राउ गरिएको थियो ।
‘आन्दोलनपश्चात सामाजिक सञ्जालमा आएका भिडियो, सिसी क्यामेरालगायतमा कैद गरिएका भिडियोका आधारमा निगरानी गरिरहेका थियौँ’, सूचना अधिकारी शाहले भने, ‘सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलगनलाई कानुनी दायरामा ल्याउन निर्देशन भएपछि पक्राउ गर्न थालेका छौँ ।’
जेन–जी आन्दोलनका क्रममा निजी सम्पत्तिमा तोडफोड र आगजनी भए पनि कतैबाट जाहेरी भने नआएको बताए । जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते दाङमा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवनसँगै सवारीसाधनमा तोडफोड र आगजनी हुँदा एक अर्ब ११ करोड रुपैयाँ बढीको सरकारी सम्पत्तिमा क्षति भएको थियो । पक्राउ परेकालाई अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।