डिआईजिपी फुटबल प्रतियोगिता : राप्ती , सिद्धरत्ननाथ र गोरखा बिजयी

दाङ,२१ कार्तिक । लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआईजिपी फुटबल रनिङ शिल्ड प्रतियोगिता–२०८२ को दोस्रो दिनका खेलमा राप्ती मोडर्नएकेडेमी, सिद्ध रत्ननाथ विद्यालय र गोरखा विद्यालय घोराही बिजयी भएका छ्न ।

नेपाल पुलिस स्कुलको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा राप्ती मोडर्न एकेडेमीले दीपशिखा सेकन्डरी स्कूल घोराहीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने राप्ती मोडर्न एकेडेमीका खेलाडी नरेश बुढाथोकी म्यान अफ द म्याच घोषित भएका थिए ।

दोस्रो खेलमा सिद्ध रत्ननाथ विद्यालयले गुरु जाजुर विद्यालय तुलसीपुरलाई १–० गोल अन्तरले हराएको छ । कडा प्रतिस्पर्धा भएको खेलमा सिद्ध रत्ननाथ विद्यालयले जित निकाल्न सफल भएको हो ।उक्त खेलका म्यान अफ द म्याच सिद्ध रत्ननाथका मदन डागी घोषित भएका थिए। त्यसैगरी बिहीबारको तेस्रो अन्तिम खेलमा गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले ग्रेटबुद्ध एकेडेमी नारायणपुरलाई ६–० गोल अन्तरले हराउँदै विजयी भएको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने गोरखाका शुभम पुन म्यान अफ द म्याच बनेका थिए ।
कार्तिक १९ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका २२ विद्यालयका २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिता कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ ।