calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

चारलेन सडकमा नागबेली यात्रा

खेमराज रिजाल
तुलसीपुर, १८ कात्तिक । आइतवारदेखि चार बजे कार्यालय बन्द । कर्मचारी तीन बजे नै बाहिरिन थालेपछि सडकमा भिडभाड चार बजे अघि नै सुरु हुन्छ । त्यहीबिचमा हामी तुलसीपुरबाट घोराहीका लागि मोटरसाइकल यात्रा गरिरहँदा काला खोला पुल पूर्वको उकालोमा एउटा मोटरसाइकल बिच सडकमै ढल्यो । कारण दुई वटा थिए । एउटा कारण चालकले मादक पदार्थ सेवन गरेको र अर्को कारण बिच सडकमा खाल्डो (भ्वाङ) परेको थियो । मापसे चालकले न खाडल देख्न सकेन मोटरसाइकल कन्ट्रोल नै गर्न सके । उनी त ढले, अरू सवारीचालक पनि संयोगले एकआपसमा ठोकिनबाट जोगिए ।

यस्ता दुर्घटना अहिले घोराही–तुलसीपुर सडकमा बढेको बढ्यै छन् । कहिलेसम्म सडक किनारामै टिप्पर पल्टिन्छन्, कहिले बस पल्टिन्छन्, कहिले मोटरसाइकल दुर्घटनामा ठाउँका ठाउँ निधन हुने क्रम बढेको छ । ‘पिच सडक बाहिर टायर लैजानु पर्दा गलेको माटोमा भासिएर टिप्पर पल्टियो, मलाइ त केही भएन’, शुक्रवार साँझ घोराही–तुलसीपुर सडक खण्डको झिँगैमा रोल्पाबाट चुनढुङ्गा लिएर घोराही जाँदै गरेको टिप्परका चालकले भने, ‘पछि डोजर आएर टिप्परलाई उठायो ।

एक महिना अघि फोर्टिनाइन चोकमा पनि यसरी नै टिप्पर सडक किनारामै पल्टिएको थियो । उठाउन धेरै खर्च गर्नु प¥यो ।’ घोराही–तुलसीपुर सडक चारलेनमा स्तरोन्नति गर्न दोस्रो पटक ठेक्का सम्झौता भएको चार महिना बित्दैगर्दा कतै यो सडक स्तरोन्नतिको काम पनि जेन–जी सरकारले थाँती राख्ने त होइन भन्ने आशङ्का नागरिकले गर्न थालेका छन् । उता सडक स्तरोन्नतिको ठेक्का सम्झौता भइसकेपछि सडक डिभिजन दाङले च्यातिएका सडक किनारा र सडक बिचमा परेका भ्वाङ पुर्ने तयारी गरेको देखिँदैन ।

किनाराबाट च्यातिँदै जानु र बिच बिचमा परेका खाडलको आयतन बढ्दै जाँदा अहिले घोराही–तुलसीपुर सडकमा मोटरसाइकल यात्रा नागवेली शैलीको छ । चारलेनमा स्तरोन्नति गर्ने भनिएको यो सडकको पिच भएको भाग कुनै ठाउँमा त तीन मिटरमा खुम्चिएको छ । चार मिटर बढी चौडाइ कालोपत्रे कतै पनि छैन, सायद ।

खाडलैखाडलको सडकमा खास गरी साना सवारीसाधनका चालकलाई सास्ती खेप्नुपरेको गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका प्राचार्य विजय जिएमले बताए । ‘चारलेन सडक निर्माणको ठेक्का सम्झौता तीन वर्षको छ । यस बिचमा धुजाधुजा भएको सडक मर्मत गरिएन भने त दिनदिनै थप विजोगको अवस्था हामी चालकले व्यहोर्नुपर्ने छ’, प्राचार्य जिएमले भने । उनी सधैँजसो कारमा घरदेखि स्कुल धाउँछन् तर कुनबेला दुर्घटनामा परिने भन्ने त्रास सधैँ मनमा रहिरहन्छ ।

यदि तीन वर्षसम्म चारलेनकै भर परेर यो सडक मर्मत गरिएन भने केही महिनामै सडकका दुई किनारा जोडिन सक्ने सवारीचालकले अनुमान गरेका छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ । खाडल छलाउन नागबेली शैलीमा सवारी चलाउँदा दुर्घटनाको जोखिम थप बढिरहेको यातायात व्यवसायी भीमबहादुर डाँगीले बताए ।

‘हामी स्टेट चलाउँछौँ, मोटरसाइकलहरू नागबेली शैलीमा चलिदिन्छन्, कति बेला सवारी साधनमा ठोक्किने हुन् भन्ने त्रास हुन्छ’, तुलसीपुर–पोखरा रात्रीबसका मालिक तथा चालक डाँगीले भने ।

चाँडै खाडल पुर्छौँ ः डिभिजन सडक

यसै प्रसङ्गलाई लिएर फोन सम्पर्क गर्दा डिभिजन सडक कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले सडक मर्मतको कार्यक्रम यो वर्ष रहेको बताएका छन् । ‘यो वर्ष वर्षात् पनि ढिलोसम्म रह्यो, दसैँ–तिहार पनि यही बिचमा भर्खरै सकिए, अब हाम्रो पहिलो प्राथमिकता भनेकै घोराही–तुलसीपुर सडकको मर्मत गर्नु छ’, डिभिजन प्रमुख विष्टले भने ।

चारलेनमा स्तरोन्नति गर्न कम्तिमा तीन वर्ष लाग्ने हुँदा यस बिचमा सडक यातायातलाई सहज बनाउन निर्माण व्यवसायीले आफ्नो तर्फबाट खाडल मर्मत गर्ने तथा डिभिजन सडकले यो काम तत्काल सुरु गर्ने उनले बताएका छन् । सडक किनाराबाट चोइटिँदै गएको र कतै बिच बिचमा भ्वाङ परेको अवस्था आफूहरूले नियालिरहेको बताउँदै डिभिजन प्रमुख विष्टले यसमा ढुक्का हुन सम्पूर्ण स्थानीयबासी एवम् सरोकारवालालाई विश्वस्त बनाएका छन् ।

यस्तो छ निर्माण कम्पनीको तयारी

चारलेन सुरु हुन दुई साता लाग्न सक्छ । सर्भेका केही प्रक्रिया पूरा भइसके, केही पूरा हुने क्रममा छन् । अब साइटमै गएर जनताले देखिने गरी काम थाल्न करिब करिब दुई साता लाग्ने निर्माण कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा पुनः ठेक्का सम्झौता भएको घोराही–तुलसीपुर चारलेन सडक सरकार फेरबदलसँगै रोकिने कि भन्ने चासो भइरहेका बेला सडक सुधार परियोजनाले गौरवका आयोजनाको काम नरोकिने बताएको छ ।

सडक सुधार आयोजना अन्तर्गत मदन भण्डारी सडक मार्ग परियोजना अन्तर्गत ठेक्का सम्झौता भएको यो सडक निर्माणको निगमनको जिम्मा भने डिभिजन सडक दाङले पाएको छ । ‘चारलेन सडक स्तरोन्नतिको काम धमाधम प्रक्रियागत रूपमा अघि बढेको छ’, डिभिजन सडक कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले भने । ठेक्का सम्झौता भएलगत्तै निर्माण कम्पनी र डिभिजन सडकका प्राविधिकको ज्वाइन्ट सर्भेको काम सम्पन्न भएर थप प्रमाणीकरणको काम अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख विष्टले बताए ।

टुक्रे आयोजनाको बजेट कटौती हुने भए पनि गौरवका आयोजनाहरू भने सरकारको नेतृत्व परिवर्तनले प्रभावित नहुने उनले बताए । पहिले भारतको तथ्य इन्जिनियरिङको ठेक्का तोडिएपछि पछिल्लो ठेक्का दिवा÷वन्दन जेभी काठमाडौंले पाएको हो । निर्माण कम्पनीले फिल्डमा काम गर्नका लागि इन्जिनियर सुनिल ढुङ्गानालाई कन्ट्रयाक्ट म्यानेजरको जिम्मेवारी दिएको छ । निर्माण कम्पनीले घोराही–तुलसीपुर सडक खण्डको दुधरासमा सम्पर्क कार्यालय खोलिसकेको बताएको छ ।

‘ज्वाइन्ट सर्भे फाइनल भएसँगै अब इन्भेन्ट्रीको काम सुरु भइसकेको छ’, यसमा कति रुखहरू हटाउने, कति स्थायी संरचनाहरू हटाउनुपर्ने तथा कति विद्युत पोल स्थानान्तरण गर्ने भन्ने विषयमा डिभिजन सडक र निर्माण कम्पनीले अन्तिम प्रतिवेदन तयार पारेपछि फिल्डमै काम सुरु हुने इन्जिनियर ढुङ्गानाले बताएका छन् ।

सडक निर्माणकै क्रममा आवश्यक मेसिन औजारहरू र क्रसिङ मेसिनसमेत अस्थायी रूपमा राख्नका लागि निर्माण कम्पनीले नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गा लिजमा लिइसकेको छ । सो क्षेत्रमा थ्री–फेज लाइन जडानका लागि नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखामा निवेदनसमेत दिइसकेको ढुङ्गानाले बताए । ‘विद्युतका प्राविधिकहरू आएर साइटमा स्थलगत रूपमा हेरिसकेका छन्, विद्युत लाइन जडान भएपछि उपकरण जडानको काम चाँडै हुनेछ’, ढङ्गानाले भने ।

अबको दुई सातामा फिल्डमै देखिने गरी काम सुरु हुने निर्माण कम्पनीले जनाएको छ । काम कुन क्षेत्रबाट कसरी सुरु गर्ने भन्ने सन्दर्भमा डिभिजन सडकलगायत सरोकारवाला स्थानीय जनप्रतिनिधिसँग समन्वय गरिने उनले बताएका छन् । निर्माण सामग्रीहरू राख्ने तथा आवश्यक औजार र क्रसर सञ्चालनका लागि घोराही–तुलसीपुर सडक खण्डको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गा चार वर्षका लागि लिजमा लिने सम्झौता भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

तीन वर्षमा काम सम्पन्न गर्ने र थप एक वर्ष आवश्यक मेन्टिनेन्सका लागि गरी चार वर्षका लागि करिब ६ बिघा जग्गा लिजमा लिइएको बताइएको छ । मदन भण्डारी राजमार्ग आयोजनाको नयाँ कार्यक्रम अनुसार घोराही–तुलसीपुर चारलेन सडक खण्डको लम्बाइ २१ दशमलव ५८ किलोमिटर रहनेछ । जुन घोराहीको डिके पेट्रोल पम्पदेखि सुरु भएर तुलसीपुरको हात्तीखौवासम्म रहनेछ ।

सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रेको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । आयोजना सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुनेछ । ग्रामीण क्षेत्रमा भने १५ मिटर चौडाइ कालोपत्रे हुनेछ । सडकको बिचमा भने तीन मिटरको मेडियन रहनेछ । उक्त क्षेत्रमा रेलिङसहित आवश्यकता अनुसार वृक्षारोपण हुनेछ ।