लिम्पियाधुरा सिमाका बारेमा भारतसंगै चिनसंग पनि छलफल आबश्यक : प्रचण्ड

काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद समाधानका लागि भारतसंगै अब चिनसंग पनि छलफल गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्डले भने, ‘ लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको छ ।’ भारत र चीनबीच लिपुलेक हुँदै ब्यापार विस्तार गर्ने विषयमा २०७२ सालमा समझदारी भएको थियो । यो समहमति पछि अब चिन समेत यो बिवादमा जोडिएको उनको तर्क छ ।

भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि गतवर्ष नै गरिएको सर्वदलीय र सर्वपक्षीय बैठकले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरेको प्रशंग पनि उनले स्मरण गराए । ‘सीमा मिचिएको विषयमा नेपालले भारतलाई हालै पत्र पठाउनु उचित’ भन्दै उनले तर पत्रले मात्रै नपुग्ने र ठोस पहल गर्नु पर्ने धारणा राखे ।

‘उक्त लेटर नीतिगत रुपमा, सैद्धान्तिक रुपमा, भावनात्मक रुपमा पनि ठीक नै छ । त्यो लेटरमा जो ओरेन्टेसन दिइएको छ त्यो बेठीक छैन’ उनले भने ‘तर लेटर मात्रै ठीक भएर भएन । त्यो एक्सन पनि ठीक हुनुर्पयो भन्ने आवाज सही छ।’

अध्यक्ष प्रचण्डले सीमा विवादको विषय अहिले नै अन्तर्रा्ष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने बताए । यस विषयमा पञ्चायतको पालादेखि अहिलेको सरकारसम्मले के गरे भन्ने पनि समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।