जेन–जी आन्दोलनका सहिद परिवारलाई लमहीका जनप्रतिनिधिले आर्थिक सहयोग गर्ने

टेकबहादुर पुन
देउखुरी,३ असोज । । जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका परिवारलाई लमही नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको बिहीवार बसेको कार्यपालिका बैठकले सहिद परिवारलाई एक लाख ३६ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष मोहन गिरीले जनप्रतिनिधिहरूले आफैं पाउने सेवा सुविधा कटौती गरी सो रकम सहिद परिवारलाई उपलब्ध गराउने जानकारी दिएका छन् । उनका अनुसार सहिद परिवारलाई सहयोग गर्नु केवल आर्थिक सहयोग मात्र नभई सम्मानको प्रतीक पनि हो ।

प्रवक्ता गिरीले जानकारी दिँदै भने,‘जेन–जी आन्दोलनमा सहादत दिने सहिदहरू हाम्रो समाजका गौरव हुन् । उनीहरूको परिवारलाई सहारा दिनु नगरपालिकाको नैतिक दायित्व हो । यही सोचका आधारमा हामी सबै जनप्रतिनिधिहरूले सुविधा कटाएर सहयोग गर्ने निर्णय गरेका छौं ।’ उनका अनुसार सहिदले आफ्नो जीवन बलिदान गरेर ल्याएको परिवर्तनलाई स्मरण गर्दै नगरपालिकाले सहिद परिवारलाई प्राथमिकतामा राख्दै सम्मान गर्ने कार्यलाई निरन्तरता दिने योजना बनाएको छ ।

लमही नगरपालिकाको निर्णयलाई स्थानीय नागरिकले स्वागत गरेका छन् । उनीहरूको भनाइमा, सहिद परिवारलाई सहयोग गर्ने कार्यले समाजमा सहिदप्रति सम्मान र कृतज्ञताको वातावरण निर्माण गर्छ । स्थानीय बासिन्दा सुरेश दर्लामीले भने, ‘नगरपालिकाले गरेको यो निर्णयले सहिद परिवारको घाउमा केही मात्रामा मलम लगाउनेछ । यसले समाजमा पनि सकारात्मक सन्देश फैलाउनेछ ।’ समाजसेवी बिकाश थापाका अनुसार नगरपालिकाले देखाएको पहल अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्छ ।