विध्वंसपछि सहजता तर्फको यात्रा :त्रसित मनोविज्ञानलाई काउन्सिलिङ आवश्यक

खेमराज रिजाल
दाङ, ३ असोज । सामाजिक सञ्जालहरूको प्रतिबन्ध हटाउने र मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने माग राख्दै जेन–जी पुस्ताले सुरुआत गरेको आन्दोलन पछिको विध्वंसपछि दाङमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको समन्वयमा बिहिबार सर्वपक्षीय बहस भएको छ । चर्को आन्दोलनपछि मुलुक क्रमशः लयमा फर्कन थालेपछि प्रमुख जिल्ला अधिकारी अर्यालले नेपालीको महान चाड बडा दसैँको सन्दर्भ जोडेर बहस कार्यक्रम राखेका थिए । त्यक्रममा समसामयिक एजेन्डा माथिको छलफलसँगै भर्खरैको यो भौतिक विनाशपछि त्रसित मनोविज्ञानलाई सहजतामा बदल्न काउन्सिलिङको आवश्यकताबारे बहस भएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालको अध्यक्षतामा भएको बैठकमा नजिकिँदै गएको महान पर्व बडा दसैँलाई कसरी सुरक्षित र व्यवस्थित बनाउने र मुलुकलाई कसरी लयमा फर्काउने भन्ने सन्दर्भमा विभिन्न संस्थाका प्रतिनिधिले जिज्ञासा राखेका थिए । बैठकमा सहभागी अधिकांशको चासो सुरक्षा संवेदनशिलतासँग जोडिएको थियो । यसैगरी पर्व नजिकिँदै आएको समयमा सहज यातायात सेवा, सर्वसुलभ रूपमा दैनिक उपभोग्य सामग्रीको उपलब्धता, बजारमा हुने कृत्रिम अभावको नियन्त्रण तथा मिसावटयुक्त उपभोग्य सामग्रीको बेचबिखनमा रोकलगायतका विषयमा सरोकारवाला निकाय सतर्क हुनुपर्ने सुझाव दिइएको थियो । साथै जलेका कार्यालयहरूले कसरी चाँडोभन्दा चाँडो सेवा प्रवाह गर्न सकिन्छ र यसमा स्थानीय सरकारको भूमिकाका विषयमा समेत गम्भीर छलफल भएको छ । यसैगरी पर्व नजिकिँदै गर्दा खाडलै खाडल परेका सडकलाई कम्तीमा पनि खाडल पुरेर बडा दसैँलाई आमन्त्रण गर्नेतर्फ स्थानीय सरकारहरूको ध्यानाकर्षण भएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले अब खरानी पन्छाएर त्रिपालमुनि बसेर भए पनि जनताको काम गर्ने स्थानीय सरकारकारहरू प्रतिबद्ध रहेकाले आम नागरिकलाई त्रसित र निराश नहुन आग्रह गरे । ‘बबई जल्दा राप्तीलाई रापिन्छ, यही नै सच्चा राष्ट्रियता हो, यो अवस्थामा अन्तरपालिकाबिच सहयोग आदान प्रदानको हामीले अपेक्षा गरेका छौँ’, जिल्ला समन्वय समितिका प्रमुख शर्माले बैठकमा भने । बैठकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले घोराही यति धेरै जल्दा पनि आफूहरू हतोत्साहित नभई संयमित भएर जनताको सेवा प्रवाहमा जुटेको बताए ।

पर्व नजिकिँदै गर्दा हुने व्यावसायिक सुरक्षाको प्रबन्ध, मिसावटयुक्त र म्याद नाघेका दैनिक उपभोग्य सामग्रीको बिक्री वितरणमा प्रतिबन्ध लगाउने, सहज यातायातलगायतका सेवामा घोराही उपमहानगरपालिका प्रतिबद्ध रहेको उनले बताए । जेन–जी प्रदर्शनीका क्रममा घोराही उपमहानगरपालिकाको प्रशासनिक भवन पूर्णरूपमा क्षति भए पनि बचेका केही कोठा र अन्य भवन भाडामा लिएरै भए पनि उपमहानगरपालिकाले सेवा प्रवाह गर्ने उनको प्रतिबद्धता थियो ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले तुलसीपुर जेन–जी आन्दोलनको प्रभावको केन्द्र रहेको उल्लेख गर्दै आफूले दुई वटा त्रिपालमा बसेर भए पनि जनतालाई अत्यावश्यक सेवा दिन थालेको बताए । तुलसीपुर उपमहानगरपालिकाले भर्खरै निर्माण सम्पन्न गरेको व्यावसायिक भवनबाट उपमहानगरपालिकाले चाँडो भन्दा चाँडो सेवा प्रवाह गर्ने उनको प्रतिवद्धता थियो । आन्तरिक राजस्व कार्यालयलाई समेत उनले सोही भवनबाट सेवा प्रवाह गर्न आग्रह गरेको बताउँदै नगर प्रमुख खड्काले फर्निचरलगायतका सामग्री सहयोग गर्न तुलसीपुर क्षेत्रका स्थानीय पालिकालाई आग्रह गरेको बताए ।

कार्यक्रममा पर्वमा शान्ति, सुरक्षा व्यवस्थापनको पहिलो शर्त राखेका प्रतिनिधिहरूले बजारमा उपलब्ध दैनिक उपभोग्य सामग्रीमा अखाद्य पदार्थको मिसावट भएको उल्लेख गर्दै यसको नियमित अनुगमन गर्न आग्रह गरेका थिए । ‘खाने तेलमा ट्रान्फ्याक्स मिसावट गरिएको गुनासो छ अनि मिठाइमा हुने सिल्भर एल्मोनियम कोटेड पनि गुणस्तरहीन छन्, जुन मानव स्वास्थ्यका लागि गम्भीर हानिकारक छन्’, बैठकमा राप्ती गाउँपालिका प्रमुख प्रकाश विष्टले भने, ‘यस्ता खाद्य वस्तुहरूको प्रयोगशालामा परीक्षण गर्न खाद्य गुणस्तर डिभिजन कार्यालय तुलसीपुरलाई आग्रह गर्दछु ।’

बैठकमा भेनीगरमा फेविकोल र रङको प्रयोग गरी चुक भनेर बिक्री वितरण गरिने समेतका गुनासा राखिएको थियो । कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी, बंंगलाचुली गाउपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, बबई गाउपालिकाका प्रतिनिधि तथा वडाध्यक्ष तीलक भण्डारीले पनि पर्व लक्षित सुरक्षा व्यवस्थापनलगायत दैनिक उपभोग्य सामग्रीको सर्वसुलभताको अपेक्षा गरेका थिए ।

सो अवसरमा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष वशन्त जोशी, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका सदस्य नारायण विवश, अधिकारकर्मीहरू केशवकुमार शर्मा, जिवी चिन्तन, नारायणपुर उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, तुलसीपुर होटल व्यवसायी संघका प्रतिनिधिलगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले पर्वलाई सुरक्षित एवम् सहज बनाउन आआफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठकको समापन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले प्रयास गर्दागर्दै यति धेरै भौतिक क्षति भएको उल्लेख गर्दै अब यसलाई क्रमशः व्यवस्थापन गरी त्रसित मनोविज्ञानबाट माथि उठ्न सबैलाइ आग्रह गरे । बैठकको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले गरेका थिए ।