गणेशमानलाई सम्झँदै कांग्रेसले भन्यो,‘अब पार्टीको पुनःनिर्माणमा लागौँ’

गोरक्ष समाचारदाता
दाङ, ३ भदौ । जेन–जी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र आक्रमणका कारण कमजोर भएको आफ्ना शुभेच्छुक र कार्यकर्ताको मनोबल बढाउन नेपाली कांग्रेसले आफूलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा घोराहीमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । गणेशमान सिंहको २८ औँ स्मृति दिवसका अवसरमा बिहिबार नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने नेताहरूले वर्तमान जटिल परिस्थितिमा संयमित र सुझबुझका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्वसभापति विरकेशवरी गौतमले जेन–जीका नाममा लोकतन्त्रसँगै नेपाली कांग्रेसलाई कमजोर पार्ने गरी सुनियोजित रूपमा पार्टी कार्यालय, शालिकसँगै नेताहरूमाथि आक्रमण भएको बताए । उनले अहिलेको परिस्थितिमा लोकतन्त्रप्रति प्रतिबद्ध भएर जिम्मेवारीपूर्वक पार्टी कार्यकर्तासँगै आम नागरिकको मनोबल बढाउने गरी लाग्न आवश्यक रहेको बताए । नेपाली कांग्रेस दाङका पूर्व सभापति मोहनलाल वलीले पार्टीलाई रूपान्तरणका लागि लाग्नुपर्ने बताए ।

राष्ट्रिय सभाका पूर्व प्रमुख सचेतक अनिता देवकोटाले अहिलेको विषम परिस्थितिमा कांग्रेसमाथि आक्रमण बढ्दो रहेको भन्दै कांग्रेसलाई आक्रमण गर्दा लोकतन्त्रलाई कमजोर बनाउन सकिने उद्देश्यले आक्रमण भएको बताइन् । अहिले कार्यकर्तासँगै आम नागरिकमा साहस र शक्तिका साथ अघि बढ्न ऊर्जा आवश्यक रहेको भन्दै त्यसका लागि कार्ययोजना बनाउन आवश्यक रहेको बताइन् ।

नेपाली कांग्रेस दाङका पूर्वजिल्ला सचिव कमलकिशोर घिमिरेले अहिलेको परिस्थितिले गणेशमान सिंहको त्याग, समर्पण र बलिदानको महत्वलाई पुष्टि गरेको बताए । उनले मुलुकको वर्तमान अवस्थालाई मूल्याङ्कन गर्दै पार्टी निर्माण र कार्यकर्तामा ऊर्जा भर्न जानुपर्ने बताए । महासमिति सदस्य भुपबहादुर डाँगीले नेताहरूको त्याग र तपस्याबाट प्राप्त उपलब्धिलाई जोगाउन लाग्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा आलोचनाभन्दा संयमित भएर पार्टी निर्माणमा लाग्न आवश्यक रहेको भन्दै आगोमा घिउ छर्कने काम नगर्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्काले कठिन परिस्थितिमा पार्टीलाई रूपान्तरणका लागि सबैको मनोबल बढाउने गरी लाग्नुपर्ने बताए । पार्टीको नीति, सिद्धान्तभन्दा बाहिर जानेको समीक्षा गर्दै कारबाही आवश्यक रहेकोमा उनको जोड दिए । महाधिवेशन प्रतिनिधि बमबहादुर डिसीले अहिलेको परिस्थितिमा पार्टीसँगै पार्टीका नेताहरूमाथि भएको आक्रमण राष्ट्र र राष्ट्रियतामाथिको आक्रमण भएको बताए । बंगालचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले चुनौतीसँगै अवसरसमेत भएकाले पार्टी पुनःनिर्माणका लागि एकजुट हुने अवसर भएको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले देशको अहिलेको जेनी–जी आन्दोलनलाई अवसरका रूपमा लिँदै लोकतन्त्र, नागरिक अधिकार एवम् पार्टी संगठन निर्माणमा एकजुट हुने अवसर दिएको बताए । एकले अर्काको आलोचना गर्नुभन्दा हरेक नेताले आचरण सुधार गर्दै अघि बढ्न सके पार्टी निर्माणका लागि महत्वपूर्ण योगदान हुने बताए । नेपाल किसान संघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले अहिलेको अवस्थामा विगतका तीता मिठा कुरा बिर्सिएर सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । जिल्ला उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई अर्का उपभासपति गिरिराज सुवेदीले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अर्जुनकुमार योगीले गरेका थिए ।