निजी विद्यालयको योगदानको अवमूल्यन भयो : निजी विद्यालय
दाङ, १८ भदौ । निजी विद्यालयले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको सरकारले अवमूल्यन गरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । बुधबार दाङको घोराहीमा निजी विद्यालयका छाता सङ्गठनहरूद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै वक्ताहरूले सरकारले निजी विद्यालयहरूको योगदानको अवमूल्यन गरेको बताएका हुन् ।
विद्यालय शिक्षा विधेयकका केही बुँदा निजी विद्यालयको हित विपरीत रहेको भन्दै प्याब्सन दाङ, एन प्याब्सन दाङ र हिसान दाङले संयुक्त रूपमा बिरोध र्याली तथा खबरदारी सभा सम्पन्न गरेका छन् । सभालाई सम्बोधन गर्दै एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश शर्माले निजी विद्यालयमाथि सरकारले न्याय दिन नसकेको बताएका हुन् । शर्माले नेपालको शिक्षा क्षेत्रमा निजी विद्यालयको महत्त्वपूर्ण योगदान रहेको बताए ।
प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारीले खबरदारी सभालाई सम्बोधन गर्दै निजी विद्यालयको योगदानको अवमूल्यन भएको बताए । सरकारले निजी विद्यालयप्रति सौतेलो व्यवहार गरेको अधिकारीले बताए । हिसान दाङका सचिव विष्णु देवकोटाले सरकार ल्याउन थालेको विधेयक विभेदकारी रहेको बताए । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता भएको खबरदारी सभाको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।
पूर्वमन्त्री गिरीलाई ज्ञापनपत्र
यसैबिच प्याब्सन, एन प्याब्सन र हिसान दाङले संयुक्तरूपमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दिपक गिरीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाली काङ्ग्रेसका नेता गिरीले ज्ञापनपत्र बुझ्दै निजी विद्यालयका माग जायज रहेको बताए । निजी विद्यालयले राखेका माग सम्बोधन गर्न आफू सकारात्मक रहेको नेता गिरीले बताए ।
