गौमुखी भ्रमणवर्ष २०८२ प्रर्वद्धनकालागि पत्रकार महासंघसँग सहकार्य

 

प्यूठान,१७ भदौ। प्यूठान जिल्लाक‍ै उत्कृष्ट एवम् रमणीय पर्यटन गन्तव्य गौमुखी गाउँपालिकाले पर्यटन बर्ष २०८२ मनाउने भएको छ । पालिकामा अवस्थित पर्यटकीय क्षेत्रहरुको प्रचार – प्रसार गरि पर्यटन प्रबर्द्धन गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ प्यूठान शाखाको संयोजनमा जिल्लामा कृयाशिल सञ्चारमाध्यम र पत्रकारहरु बिच छलफल गरेकोछ ।

गौमुखी गाउँपालिका र पत्रकार महासंघ बीच सहकार्य गरि जिल्लास्थित सबै सञ्चारमाध्यममा कार्यरत कृयाशिल पत्रकार परिचालन गरि गौमुखीको पर्यटकिय स्थलहरुको प्रचार -प्रसार गर्ने र एक लाख पर्यटक गौमुखीमा भित्र्याउने लक्ष्य सहित भ्रमण बर्ष मनाउन लागिएको हो ।

सोमबार पत्रकार महासंघ सम्पर्क कार्यालय तथा सूचना केन्द्र विजुवारमा गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर राना सहित बैठक सम्पन्न भएको हो ।

शुभारम्भ गरिएको भ्रमण वर्षलाई सफल बनाउन गाउँपालिकाका सबै वडा र पालिकाले समेत विभिन्न योजना र बजेट विनियोजन गरेको उपाध्यक्ष रानाले बैठकमा जानकारी दिनुभयो । गौमुखी क्षेत्रमा रहेका विभिन्न पर्यटकीय स्थलहरुको प्रचार-प्रसार गर्ने र पर्यटन सँग स्थानिय स्तरमा रोजगारी र आयआर्जनका कृयाकलाप बढाउन भ्रमण वर्ष आयोजना गरिएको उहाँले बताउनुभयो । भ्रमण वर्षको प्रचार प्रसार आवश्यक रहेकाले पालिकाले सबै प्रकारका मिडिया सँग सहकार्य गरेर गतिविधि गर्न लागेको जानकारी दिनुभयो । उहाले भन्नू भयो,`पर्यटकीय क्षेत्रसँगै स्थानीय सोरठी, मारुनी, झ्याउरे, पञ्जेबाँचा लगायत कला संस्कृतिको समेत प्रर्वद्धन हुने छ ।´

गौमुखी गाउँपालिकाको १८ औं गाउँसभाले गौमुखी भ्रमण वर्ष २०८२ मनाउने निर्णय गरेको थियो । उक्त भ्रमण बर्षको कार्यक्रम अगाडी बढाइएकोले सबै पक्षबाट कार्यक्रम सफल पार्न गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले अपिल गर्नुभएको छ । पालिका भित्र अनेकौं प्राकृतिक सौन्दर्य सँगै गौमुखी, बाइसमुल झरना, झाक्रिढुङ्गा, तामाखानी, नाङ्गी लेक, गुफा, रानीताल, गोद्रेचौर लगायतका पर्यटकिय आकर्षक गन्तव्यहरु छन ।

गाउँपालिकाले थालेको पर्यटन वर्षको कार्यक्रम जिल्लाकै लागि महत्वपूर्ण भएको पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताउनुभयो । उहाँले यस भ्रमण वर्षलाई सफल बनाउन सबै सञ्चार माध्यमसँग सहकार्य गरि कार्यक्रम सफल बनाउने बताउनु भयो ।

पर्यटकका लागि अहिले गौमुखी नजिकै अर्खा गाउँमा होमस्टे समेत सञ्चालनमा आएको छ । आन्तरिक पर्यटकलाई ट्रेकिङ सहित २/४ दिन गौमुखीका विभिन्न ठाउँमा घुम्ने वातावरण वनाउन भ्रमण वर्षले सहयोग गर्ने पालिकाको अपेक्षा छ ।

यसअघि आर्थिक वर्ष २०७६/०७७ लाई गौमुखी पर्यटन वर्षको रुपमा मनाउने नीति अख्तियार गर्दै गौमुखीमा पर्यटन प्रर्वद्धनका लागि मिडिया सम्मेलन समेत गरिएको थियो ।