तुलसीपुरको ज्ञानज्योति, विज्ञान संकायतर्फ नेपालकै प्रथम

दाङ,२० साउन । तुलसीपुरको ज्ञानज्योति माध्यमिक विद्यालयले यस वर्षको कक्षा–१२ को नतिजामा दुई तहमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

व्यवस्थापन संकायतर्फ दाङ जिल्ला प्रथम बनेको विद्यालयले विज्ञान संकायतर्फ नेपाल प्रथम भएको दाबी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विज्ञान संकायका छात्र कृष्ण गिरीले ३.९६ जिपिए प्राप्त गर्दै नेपालभर प्रथम स्थान सुरक्षित गरेका विद्यालयका भाइस–प्रिन्सिपल मनोजकुमार केसीले जानकारी दिएका छन् ।

व्यवस्थापन संकायतर्फ भने विद्यालयका छात्र सन्दीप वलीले ३.९० जिपिएसहित दाङ जिल्ला प्रथम स्थान हासिल गरेका छन् । ज्ञानज्योति सेकेन्डरी स्कुल लुम्बिनी प्रदेश लगायत पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञान ज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताएका छन् ।

ज्ञानज्योति माध्यमिक विद्यालयले विविए,विएसी एसआईटी, विसिए, विएस्सी, विविएस र विए संकायमा अध्ययन गराउँदै आएको छ। पश्चिम नेपालमै उच्च व्यवस्थापनसहित सञ्चालन हुने प्रतिष्ठित शिक्षालयका रूपमा विद्यालय परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।