मेरो खुशी : म हराएको दिन …

मलाई गते महिना याद भएन । सायद महां भूकम्प आएको साल २०७२ को जाडो महिना । दिन छोटा थिए । म बल्खु चौक नजिक सानेपामा रहेको सगरमाथा इन्जिनियरिङ कलेजमा पढ्थेँ । डेरा कीर्तिपुरको पांगामा आफन्तको घरमा थियो । कलेजबाट डेरा जान बल्खुसम्म आएर पांगाको बस समाउनु पथ्र्यो । कलेज सकिँदा लगभग साँझ परिसकेको हुन्थ्यो ।

यहि क्रममा हाम्रो कलेजको वार्षिकोत्सवको दिन नजिकिँदै थियो । वार्षिकोत्सवको समयलाई जतिसक्यो लम्ब्याउनु थियो । त्यसका लागि हामी कलेजमा अध्ययन गर्ने सातैजना महिलाले नृत्य गर्नु पर्ने भयो । नृत्यको रिहल्सन गर्न थाल्यौँ । त्यही कारण त्यो दिन डेरा फर्कन अझै ढिला क्याम्पसबाट छुट्यौँ ।

बल्खुसम्म आइपुग्दा मैले एयरफोन लगाएर मोबाइल सुन्थेँ । त्यो दिन पनि मेरो कानमा एयरफोन थियो । ह्याविट जस्तै भएको थियो, एयरफोन । त्यही धुनमा कीर्तिपुरको पांगा पुग्नका लागि बल्खु चौकमा बस चढेँ । एयरफोन कानमै थियो । आफ्नै धुनमा बस चढेकी थिएँ । गीत सुन्दै जाँदा बस धेरै परपुगेपछि पांगाको बाटो याद गरेँ । सबै पांगाकै होलान्, चोभारको चोकबाट लैजाला गाडि भनेर त्यति ध्यान दिइन् ।

बस अझै टाढा पुगेपछि मात्र मैले बसका अन्य यात्रीलाई सोर्धे बस कता जाँदै छ ? मत पांगा जानु पर्ने । यात्रुले जवाफ दिए, बैनी तपाई त दक्षिणकालिको बसमा चढ्नु भयो । यो त पांगा जाँदैन नि ! म झसँग भएँ । अँध्यारो ढिप्कि सकेको थियो । बस रोके र मलाई फेरि विपरित दिसा जान सबै यात्रुले आग्रह गरे ।

त्यो बेला बस करिब करिब बल्खु र चोभारको बिचमा पुगिसकेको थियो । अँध्यारो, सन्नाटा जंगल जस्तो ठाउँमा म ओर्लिएँ । हतार–हतार आफू गलत ठाउँको बस चढेको जानकारी गराउन डेरामा रहेकी बहिनी संगीतालाई फोन गर्ने प्रयास गरेँ तर नेटवर्क डाउन थियो । धेरै समयसम्म फोन लागेन । म हतास मनस्थितिमा डरले कापिरहेकी थिएँ ।

धन्न केही बेरपछि बहिनी संगीताको फोन लाग्यो तर म कुन लोकेशनमा छु भन्ने बताउन सकिरहेकी थिइन् । त्यसै बिचमा मैले फोन घुमाउँदै गर्दा धेरै साथीलाई म गलत ठाउँमा पुगेको जानकारी भइसकेको रहेछ । केही बेरपछि मलाई अर्को साथीले फोन गरिन् ।

तलाई लिन साथी स्कुटी लिएर आउँदै हुनुहुन्छ, जहाँ छेस त्यही रहनु । सडक नछाड्नु । त्यो अधैर्य प्रतिक्षा कति लामो थियो कि पाँच मिनेट पनि पाँच दिन जस्तो प्रतित हुन्थ्यो । कहाली लाग्दा केही मिनेट बिताएपछि बल्ल मलाई लिन साथी आइपुगिन्, स्कुटी लिएर ।

लेखिदिनु होला मेरो खुसी, ‘म हराएको दिन’ अर्थात म भेटिएको दिन पनि त्यही थियो । म भेटिएँ । अनि सोझै कीर्तिपुरको पांगामा रहेको मेरो डेरासम्म पुग्न सफल भएँ । खुसी यो अर्थमा कि म सोही दिन भेटिएकी थिए । डेरामा पुग्दा पनि मेरो जिउ थरथर कापिरहेको थियो ।

भेटिएको खुसीले मन मुटु फुलिरहेको थियो । आहाँ त्यो दिन सम्झँदा म अझै पनि तरङ्गित हुन्छु । मेरो मनले मलाई नै धिक्कार्छ । सानो गल्तीले झण्डै ठुलो दुर्घटना भोग्नु पर्ने थियो मैले । भगवान्ले मलाई त्यसो हुन दिनु भएन भन्ने लाग्यो । डेरामा पुगेपछि मन शान्त हुन पनि धेरै समय लागेको थियो ।

‘मेरो अहिलेसम्मको अविस्मरणीय क्षण भनेको त्यही दिन हो, जुन दिन म हराएर भेटिएकी थिएँ ।माथि उल्लिखित खुसीका अविस्मरणीय क्षण हुन् जिल्ला समन्वय समितिमा कार्यरत सबइन्जिनियर सन्जिता पौडेलका । त्यसो त उनी आफ्ना खुसीका क्षणबारे खुल्न चाहन्निन् ।

भन्छिन्, मलाई कहिल्यै दुःखी हुनु परेकै छैन । कुरा बढाउँदै जाँदा उनका जीवनका अविस्मरणीय क्षण खुल्दै गए । अर्को खुसी पनि पढाइको अवसरसँगै जोडियो । सन्जिताको सानैदेखि इन्जिनियरिङ पढ्ने चाहना । चाहनालाई पूरा गर्न उनी दाङको माउन्टभ्यु स्कुलबाट एसइई उत्तीर्ण गरेपछि प्लस टु अध्ययन गर्न काठमाण्डौको वालकुमारीस्थित क्याराभान कलेजमा भर्ना भइन् ।

त्यहाँबाट प्लस टु सकाएर इन्जिनियरिङको इन्ट्रान्स परीक्षा दिइन् । सोचेजस्तो मार्क आएनकी उनले धेरै इन्जिनियरिङ कलेजमा एप्लाई गर्नु प¥यो ।

जहाँ नाम निस्किएला त्यही पढौँला भन्ने चाहना तर उनी सबैभन्दा पहिले भर्ना भएको कलेजमा पढिनन् । त्यसपछि अर्को उनको चाहनाको कलेजले एडमिशनका लागि अफर गरेपछि सगरमाथा इन्जिनियरिङ कलेजमा भर्ना भइन् । त्यसो त उनले आफू पहिलो पटक भर्ना भएको कलेजको नाम बताउन चाहिनन् ।

प्रसंग यस्तो छ कि उनी जब पहिलो पटक त्यो कलेजमा भर्ना भइन्, त्यही साँझ उनलाई अपरिचित व्यक्तिले फोन गरेर त्यो कलेज त डुब्नै लागेको । कुनैपनि बेला त्यो कलेज बन्द हुन सक्छ भनेर तर उनीसँग विकल्प पनि थिएन । तैपनि भर्ना भएको भोलिपल्ट कलेज त बन्द हुन थालेको भन्छन् साथी के हो ? भनेर ।

कलेज व्यवस्थापनले उनलाई आश्वस्त पा¥यो, कलेजमा धेरै लगानी भइसकेको छ । डुब्दैन, तपाई ढुक्कसँग पढ्न आउनुस् । जवर्जस्त विश्वास त गरेँ, तर मनमा त्यही साथीको फोनको झझल्को आइरहन्थ्यो । कतै बिचमै पढाइ वर्वाद हुने त होइन ।

त्यो कलेजमा भर्ना भएपछि म र मम्मी काठमाडौँबाट दाङ फर्कियौँ । कटुवाखोला आइपुगेपछि सगरमाथा कलेजबाट फोन आयो । तपाइले एडमिशन पाउँदै हुनुहुन्छ, भोलिनै आउनुस् । त्यो भनेपछि मेरो खुसीको सीमा रहेन । मैले धेरै कुरै नबोली भोलिनै आउने भनिदिएँ । सायद भोलिनै भर्ना हुन म काठमाडौँ पुग्न सम्भव थिएन तर मैले त्यो घरमा पुगेपछि मात्र सोचे ।

घरमा पुगेपछि घरसल्लाह पनि भयो । मैले परिवारबाट सगरमाथा कलेजमै पढ्ने अनुमति पाएँं । त्यही बिचमा सगरमाथा कलेजमा रहेका एकजना चिनजानका सरसँग कुरा गरेँ । कलेजले आफूलाई भोलि नै भर्ना हुन आउने भनेको तर आफू अहिले दाङमा रहेकाले थप एक दिन सिट रोकाइदिन आग्रह गयौँ ।

उहाँले हाम्रो आग्रहलाई स्वीकारेर सिट रोकाइदिनु भो । साँझ काठमाडौँबाट आएका हामी भोलिपल्ट बहिनि र म फेरि काठमाडौँ पुग्यौँ । पर्सिपल्ट रोकाएकै समयमा मैले चाहेको सगरमाथा कलेजमा भर्ना पाएँ । लेखिदिनु होला मेरो अर्को खुसी मेरो च्वाइसको कलेजमा भर्ना ।

किनकि सगरमाथा कलेजका बारेमा बन्द भइहाल्छ कि भनेर कसैले भनेका थिएनन् । त्यही कलेजबाट विए सकाएँ । अर्थात सगरमाथा कलेज मेरो खुसी…। ‘धेरै छन् यस्ता अविस्मरणीय क्षण । म लेखेरै दिउला है’, खुसीलाई वीट मार्दै सन्जिता भन्छिन्, खुसी त खासमा चाहनाको पूर्ति होला । अर्थात् सन्तोषको खेती पनि हुन सक्छ ।

अर्थात् खसी भौतिक बस्तुको प्राप्तीले होइन मनको शान्तिले हुने हो । खुसीलाई पैसाले किन्न सकिने बस्तु होइन, अनुभूति गर्न मानव आशक्ति हो । जन्म थलो दाङको घोराही उपमहानगरपालिका–१८ अम्बापुर । कर्मथलो लुम्बिनी प्रदेशकै विभिन्न स्थान । पढाइ सकिउरी सन्जिता जागिरे जीवनमा जोडिइन् ।

लोकसेवाले सवइन्जिनियरको भ्याकेन्सी खोलेको थियो, पहिलो प्रयासमै नाम निकालिन्, किनकि इन्जिनियरिङ क्षेत्रमा अन्य सेवा जस्तो धेरैसँग प्रतिस्पर्धा गर्नु पर्थेन । जागिरको सुरुवात उनले बर्दिया जिल्लाको वारबर्दिया नगरपालिकाबाट थालिन् ।

जुन मुलुकमा सङ्घीयता आएसँगै स्थानीय तहको स्थायी जागिर थियो । त्यसपछि उनी शान्तिनगर गाउँपालिकामा सरुवा भइन् । त्यहाँ केही समय गुजारेपछि सङ्घीय लोकसेवा आयोगको परीक्षामा उनको नाम निस्क्यो ।

 

प्रस्तुति : खेमराज रिजाल