गोरक्ष समाचारदाता
दाङ, १४ साउन । गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरणका साथै योग र ध्यान शिविर सञ्चालन गरेको छ ।
विद्यालयले विज्ञानतर्फ भर्ना भएका विद्यार्थीका लागि दुईदिने योग तथा ध्यान शिविर सम्पन्न गरिसकेको छ भने व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीका लागि मङ्गलवारदेखि शिविर सुरु गरेको हो ।
कार्यक्रममा गोरखा ग्रुपका सिइओ नवल जिएमले करियर काउन्सिलिङ गरेका थिए । योग गुरु रविन्द्र बस्नेतले योग र ध्यानको अभ्यास गराएका थिए । यसैगरी गोरखा आइडल मावि भालुबाङका प्रिन्सिपल वसन्त पुनले लागूऔषध दुव्र्यसनले बालबालिकामा पार्ने असर र यसबाट बच्ने उपायबारे काउन्सिलिङ गरेका थिए ।
विद्यालयमा कक्षा ११ र १२ मा पठनपाठन हुने शैक्षिक तालिका, पाठ्यक्रम र मूल्याङ्कन विधिबारे व्यवस्थापन सङ्कायतर्फ संयोजक एमबी केसी र विज्ञान सङ्कायतर्फ संयोजक स्वतन्त्र हमालले जानकारी गराएका थिए ।
विद्यालयका अध्यक्ष विष्णु घर्ती मगरको अध्यक्षतामा भएका दुवै कार्यक्रममा विद्यालयका प्राचार्य मानसिंह घर्ती मगरले स्वागत गर्दै विद्यार्थीले पालना गर्नुपर्ने नियम र ध्यान दिनुपर्ने उपायबारे जानकारी गराएका थिए । दुवै कार्यक्रममा कक्षा ११ मा भर्ना भएका चार सय बढी विद्यार्थीको उपस्थिति रहेको थियो । व्यवस्थापनतर्फका विद्यार्थीको शिविर बुधवार सकिनेछ ।
गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले हरेक वर्ष शैक्षिक वर्ष सुरु भएपछि कक्षा ११ र १२ का विद्यार्थीलाई अभिमुखीकरणका साथै योग र ध्यानको अभ्यास गराउने गरेको छ ।
विद्यार्थीमा मानसिक तनाव र चाप घटाउने, आत्म नियन्त्रण र अनुशासन कायम गर्न सहयोग पु¥याउने, शरीरलाई लचिलो, स्फुर्तिवान् र स्वस्थ बनाउने तथा सकारात्मक सोच र आत्मविश्वास विकास गराउने भएकाले शिविर नै सञ्चालन गरेर योग र ध्यानको अभ्यास गराउने गरेको विद्यालयका प्राचार्यले घर्ती मगरले जानकारी दिए ।