घोराही,१२ साउन । दाङका तीन पालिकाले नाग पञ्चमी, गुरही र गुडिया पर्वका अवसरमा साउन १३ गते सार्वजनिक विदा दिएका छन् ।
लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले हिन्दू धर्मालम्बीहरूको नाग पञ्चमी, थारु समुदायको गुरही पर्व र मधेशी समुदायको गुडिया पर्वका अवसरमा मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेका हुन ।
पालिकाहरुले सोमवार सूचना प्रकाशित गर्दै नाग पञ्चमी, गुरही पर्व र गुडिया पर्वका अवसरमा सार्वजनिक विदा दिएका छन् । देउखुरी क्षेत्रमा थारु तथा यादव समुदायको बसोवास बढी रहेको र उक्त समुदायको पर्वका अवसरमा पालिकाले सार्वजनिक विदा दिएको पालिकाले जनाएका छन् ।
जिल्लामा दश वटा पालिका भएपनि अन्य पालिकाहरुले भने सार्वजनिक विदा दिएका छैनन् । देउखुरी क्षेत्रमा नाग पञ्चमीसँगै थारु समुदायले गुरही पर्व र मधेशी समुदायले गुडिया पर्व मनाउँदै आएका छन् ।