विद्यार्थीका समस्यामा गम्भीर बन्न क्याम्पस प्रशासनलाई स्ववियुको आग्रह

दाङ, ३० असार । विद्यार्थीका समस्यामा गम्भीर बन्न क्याम्पस प्रशासनलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र बहुमुखी क्याम्पसले आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको महेन्द्र बहुमुखी क्याम्पस, दाङमा व्यवस्थापकीय कमजोरी, शैक्षिक अव्यवस्था र सेवा सुविधाको चरम अभावले विद्यार्थीहरू हैरानी भोग्न बाध्य भएको भन्दै स्ववियुले क्याम्पस प्रशासनलाई आग्रह गरेको हो । विद्यार्थीले भोग्दै आएका समस्याका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि क्याम्पस प्रशासनले चासो नदेखाएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले अब निर्णायक संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

महेन्द्र बहुमुखी क्याम्पस स्ववियु  सभापति दिपेशकुमार डिसीको नेतृत्वमा क्याम्पस प्रमुख डा।नारायणी पन्थी, सहायक क्याम्पस प्रमुख राजेन्द्र रेग्मी र मोहन रानालाई सोमबार ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा क्याम्पस प्रशासनको गैरजिम्मेवारी, ढिलासुस्ती र अकर्मण्यताका कारण विद्यार्थीहरू निराश भएको उल्लेख गरिएको छ। स्ववियुले आफ्ना विभिन्न माग र सुझावहरू समेटेर पटक–पटक प्रस्तुत गरे पनि प्रशासनले गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गरेको छ।

स्ववियुले परीक्षा शाखा प्रमुखको उपस्थिति नहुनु, सूचनाहरू समयमा नआउनु र निर्णय प्रक्रियामा ढिलाइ हुनुले विद्यार्थीहरूलाई अन्योलमा पारेको छ। सिएसआइटी र विसिए जस्ता प्रविधिमैत्री कार्यक्रमको पाठ्यक्रम अनुसार प्रयोगात्मक कक्षा सञ्चालन नहुनु, समयमै कक्षा सञ्चालन नहुनु र शिक्षकहरूको नियमितता नहुनु शैक्षिक गुणस्तरमाथि प्रत्यक्ष असर पर्ने अवस्थासम्म आइपुगेको जनाएको छ।

त्यस्तै, क्याम्पसमा पिउने पानी, शौचालय, पुस्तकालय, कम्प्युटर ल्याब, साइकल स्ट्यान्ड, फर्निचरजस्ता आधारभूत सुविधाको अभाव रहँदा विद्यार्थीहरू असहज परिस्थितिमा पढ्न बाध्य छन्। बर्खायाममा विद्यार्थीहरू भिज्दै कक्षासम्म पुग्नुपर्ने अवस्था, छाताको अभाव, गेटको व्यवस्थापन र सफाइमा बेवास्ताले पठनपाठनको वातावरण नै धमिलिएको स्ववियुको तर्फबाट जनाइएको छ।

क्याम्पस प्रशासनको कार्यालय समय व्यवस्थापनमा पनि लापरबाही देखिएको स्ववियुको आरोप छ। कर्मचारीहरू समयमा नआउने, समयमै कार्यालय नखुल्ने र सेवाग्राही विद्यार्थीहरूलाई निराश बनाउने प्रवृत्तिले असन्तोष बढाएको छ। छात्रावासको अवस्था, यातायात सुविधा र प्राविधिक पूर्वाधारको विकासमा समेत प्रशासन उदासीन रहेको उल्लेख गरिएको छ।

इन्टरनेट सुविधा कमजोर हुनु, नियमित लोडसेडिङका कारण विद्यार्थीले आवश्यक स्रोतसाधन प्रयोग गर्न नपाउनु, डिजिटल हाजिरी प्रणाली प्रभावकारी रूपमा लागू नहुनुजस्ता विषयले समेत विद्यार्थीहरूमा असन्तोष बढाएको छ। साथै, शैक्षिक तालिका प्रकाशन नहुनु, पाठ्यपुस्तकको अभाव, अध्ययन वातावरणको कमीकमजोरी जस्ता समस्याहरूलाई पनि स्ववियुले गम्भीर रूपमा उठान गरेको छ।

प्रशासनले विद्यार्थीका आवाजप्रति पटक–पटक बेवास्ता गरेकाले अब स्ववियु शान्तिपूर्ण दबाबमूलक कार्यक्रममार्फत संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ। विद्यार्थीका प्रतिनिधिलाई समावेश नगरी गरिएका एकलौटी निर्णयहरूलाई फिर्ता लिई समन्वयमा जान आग्रह गरिएको छ। समस्या समाधान गर्न प्रशासन तयार नभए क्याम्पसमा तालाबन्दीदेखि आन्दोलनसम्मका कार्यक्रम अगाडि बढाइने चेतावनी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।