अमरराज आचार्य
दाङ, २९ असार । जिल्लामा पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । विगत तीन वर्षको तथ्याङ्कको अवस्थाले तोरी उत्पादन वृद्धि भएको देखाएको हो । जिल्लामा तोरी खेती गर्ने किसानको संख्या, उन्नत जातको तोरीको बिउ र क्षेत्रफल समेत बढ्दा उत्पादन पनि बढेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई दाङका सूर्य ज्योति केसीका अनुसार क्षेत्रफलसँगै उत्पादन वृद्धि भएको हो । तोरी जोन सुरु भएपछि जिल्लाको पश्चिम क्षेत्रमा व्यवसायीक रूपमा खेती गर्ने किसानको संख्यामा समेत वृद्धि भएको छ ।
आम्दानी राम्रो हुने भएपछि किसान तोरी खेतीमा लाग्ने गरेको किसान बताउँछन् । तोरी जोनकाअनुसार गत वर्ष २०७९÷०८० मा तोरी जोन अन्र्तगतको क्षेत्रमा एक हजार दुई सय हेक्टरमा तोरी खेती गरिएको थियो । जसमा एक हजार नौ सय ३२ मेट्रिक टन तोरी उत्पादन भएको थियो तोरी जोनका केसीले जानकारी दिइन् ।
जसको उत्पादकत्व एक दशमलव ६१ प्रति हेक्टर रहेको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार दुई सय हेक्टरमा तोरी खेती गरिएकोमा दुई हजार चार मेट्रिक टन तोरी उत्पादन भएको थियो । जसको उत्पादकत्व प्रति हेक्टर एक दशमलव ६७ रहेको थियो ।
आर्थिक वर्ष २०८१÷०८२ मा एक हजार दुई सय ४२ हेक्टरमा तोरी खेती गरिएको थियो । जसमा दुई हजार एक सय २३ दशमलव ८२ मेट्रिक टन उत्पादन भएको हो । जसको उत्पादकत्व प्रति हेक्टर एक दशमलव ७१ रहेको छ । तोरी जोनले किसानलाई प्राविधिक, बिउ तथा प्रविधिमा सहयोग गर्दै आएको प्रास केसीले बताइन् ।
तोरी जोन पश्चिम क्षेत्रको दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र तुलसीपुर उप महानगरपालिकाको केही वडामा सञ्चालनमा रहेको छ । किसानले उन्नती तोरी खेती गर्ने गरेको उनीहरूको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ मनकापुर निवासी भीमबहादुर वलीले तोरी खेती गर्ने क्षेत्रफल वृद्धि गरेका छन् । पहिले एक विगाहमा खेती गर्ने गरेका थिए तर अहिले साढे दुई विगाह क्षेत्रफलमा तोरी खेती गर्दै आएको उनले बताए । तोरीबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएकाले तोरी खेतीलाई विस्तार गर्दै गएको उनको भनाई छ ।
‘उत्पादन भएको तोरी बिक्रीमा समेत कुनै समस्या छैन घरबाट नै बिक्री हुने गरेको छ’ उनले भने ‘मूल्य समेत राम्रो नै पाइएको छ ।’ किसानले प्रति क्वीटल १२ हजारमा तोरी बिक्री गरेको उनको भनाई छ । तोरीबाट भएको आम्दानीले घर खर्च चलाउने गरेको उनी बताउँछन् ।
अहिले किसानले खेतमा समेत तोरी खेती गर्न सुरु गरेका उनले बताए । उन्नत जातको तोरीको खेती गर्दै आएको उनको भनाई छ । तोरी खेती गर्ने किसानलाई तोरी जोनले बिउमा ५० प्रतिशत अनुदान, प्राविधिक सहयोग, तथा प्रविधिमा समेत अनुदान दिँदै आएको छ ।
यसले किसानलाई तोरी खेतीमा लाग्न प्रेरित गरेको वली बताउँछन् । किसानले उत्पादन गरेको तोरी राख्नका लागि गोदाम घर तथा तोरी पेलाउन मिलमा तोरी जोनले अनुदान दिएको उनले बताए । ‘यसले किसानलाई धेरै सहयोग पुगेको छ’ उनले भने ।
यता कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा १६ हजार ४१० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको थियो । त्यसबाट १८ हजार ५४३ दशमलव तीन मेट्रिक टन तोरी उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।
उत्पादकत्व १ दशमलव १३ रहेको थियो । आर्थिक वर्ष २०८१÷०८२ मा १६ हजार ६१५ हेक्टरमा तोरी खेती भएको थियो । यस वर्ष ३१ हजार ५६८ दशमलव ५ मेट्रिक टन तोरी उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष दुई सय ५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ भने यस वर्ष तोरीको उत्पादन १३ हजार २५ दशमलव २ मेट्रिकटन तोरी उत्पादन वृद्धि हो । गत वर्षभन्दा यस वर्ष तोरीको उत्पादन वृद्धि ६८.१४ प्रतिशत रहेको छ ।
जिल्लाको सबै क्षेत्रमा तोरी खेती हुँदै आएको छ । प्रायः देउखुरी, पश्चिम क्षेत्र तथा घोराही क्षेत्रमा तोरी खेती हुने गरेकोे छ । तोरी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो ।
दाङको तोरी पहिचानको रूपमा रहेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिए । यसको पहिचान जोगाइ राख्नु पर्ने उनको भनाई छ । दाङकोे तोरीको तेलको माग समेत बाहिर धेरै रहेको उनले बताए । दाङको तोरीको माग काठमाडौँ, पोखरा, चितवन, नेपालगन्जलगायतका जिल्लामा धेरै रहेको उनले बताए । ‘पहिलेदेखि नै दाङको तोरीको माग बाहिरी जिल्लाबाट धेरै हुने गरेको छ,’ प्रमुख भण्डारीले भने ।
सहज रूपमा बिक्री भएमा किसानको आकर्षण बढ्दै जाने उनको भनाई छ । ‘उत्पादन भएको तोरी कुनै पनि किसानलाई बजारको समयस्या नभएको कारणले पनि किसानको संख्या तथा क्षेत्रफल बढेको हो,’ उनले भने ।
तोरी खेतीलाई जंगली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको संख्या धेरै रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।