मित्रलाल पार्धे
आमा उजाड मरुभूमिमा,
भिडहरुमा एक्लिएको म
गतिलो सपना देख्न पनि
भल भल आसुँ झारेर रुनुपर्दोरहेछ,
गतिलो सपना पनि
दुष्ट भ्रस्टहरुबाट बचाउँन
धेरै लामो संघर्ष गर्नुपर्दो रहेछ
अनि शहरमा भेटिने फूटपाथेहरुसित हात मिलाएर
रहरले होइन बाध्यताले
आफ्नो सपनाको लाज ढाक्नु पर्दोरहेछ,
समाज सिधा हिँड्दैन आमा
समाज निस्वार्थी हुँदैन आमा
स्वार्थी हुन्छ
शक्तिको पुजारी समाज हो आमा ।
आमा
तिमीले पनि ठूलो सपना देखेकी थियौ ,
तिमीले पनि ठूलो सपना देख्दा प्रसव पीडा भोगेकै थियौ,
बार बार रोएकै थियौ ,
बार बार चिच्याएकै थियौ ,
त्यो दर्दमा चिच्याउदा तिमीलाई
कसैले पागल आईमाई पनि भने होलान् ।
आज म पनि सपना देखिरहेको छुँ आमा ,
तर सपना स्वार्थीहरुको जमातमा बचाउनुछ,
दानवहरुको भिडमा बचाउनुछ,
आसुमा दलाली गर्ने दलालहरुको बिचमा सपना जोगाउनुछ,
आमा
म सपनाको संसारमा बाँच्न सकेन
त्यसैले तिमीदेखि टाढा छु,
बिपनाको अस्तव्यस्ततामा पनि हाँस्न सकेन
त्यसैले म एक्लिएको छु,
आमा तिमी
केराको पातले छाता ओढेर आकाशका तारा नगन्नु ,
तारा झरेर तिमीलाई झन रुवाउँन सक्छन्,
आमा तिम्रो पीडा म बुझेको छुँ
तर बुझेर पनि बुझ पचाएको छुँ ,
आमा जति पीडाका आँसु बगे पनि
धोतीको टुप्पाले आँसु पुछ्नु,
तिम्रो आसुँ बेचेर दलालहरुले दलाली गर्नेछन् ,
त्यसैले आँसु पनि जोगाएर राख्नु है आमा
आमा जहाँ पृथ्वी छ त्यहाँ सूर्य छ ,
जहाँ म छुँ, त्यहाँ तिम्रो धड्कन छ,
आमा सपना बुनेर सधैं नरुनु
किन कि तिम्रो सपना गिद्दहरुले लुछ्न सक्छन् ,
आमा आँसु सधैं नबगाउनु
ब्वासाहरुले जुस बनाएर तिम्रो आँसु पिउन सक्छन्,
त्यसैले
आमा तिम्रो आँँसु त पुछ्न सकेन
तर तिमी जस्तै सयौ आमाहरुको आँँसु पुछ्नेछु
आमा तिमीजस्तै सयौ आमाहरुको सपना पुरा गरी आउँनेछु ।